Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण अहिलेसम्मकै धेरै १० हजार मानिसले एकै दिन ज्यान गुमाए

काठमाडौँ । विश्वभर आतंक फैलाइरहेको कोरोनाका कारण जीवन गुमाउनेको संख्या बढिरहेको छ । यही बेला मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो । एकै दिन १० हजार बढीको मृत्यु हुँदा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ८८ हजार ७२२ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

युरोपमा कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो देश हो भने विश्वमा पाचौँ हो । हालसम्म अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। बेलायतमा पछिल्लो २४ घण्टामा ५९५ संक्रमितको मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृतकको कुल संख्या ५० हजार ३६५ पुगेको छ । जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। स्पेनमा मृतकको संख्या ४२ हजार ९५३ पुगेको छ। फ्रान्समा ४२ हजार ५३५ र स्पेनमा ४० हजार १०५ जनाको मृत्यु भइसकेको छ। संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्। मृतकको संख्या बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्लो समय प्राप्त तथ्याङ्कहरुले खोपको आशा दिलाएको बताएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ३ हजार १३१ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड २४ लाख ११ हजार ४५२ पुगेको छ । यसमध्ये ३ करोड ६६ लाख ५५ हजार ११ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६८ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् । विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४४ लाख ६७ हजार ७१९ पुगेको छ । उपचार गराइरहेकामध्ये ९४ हजार ७३९ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित समाचार