Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण २४ घण्टामा ४ सय ६ को मृत्यु

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन । यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको मृत्यु हुँदा बाँकी ३ सय ९६ जनाको भने चीनबाहिर मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमण उच्च भएपछि युरोपेली सङ्घका दुई ठूला मुलुक स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाएका हुन् ।
स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय जनामा संक्रमण भएको छ । यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ भने ४४ सय भन्दा बढी संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।
युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४१ जनाको मृत्यु भएको छ भने २१ हजार भन्दा बढी संक्रमित भएका छन् । सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । त्यहाँ थप १० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ ।
बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि सबै क्षेत्रसँग सहयोगको अपिल गरेका छन् ।
अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाइएको थियो । बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि सुरु हुनेछ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार यसअघि यात्रामा प्रतिबन्ध गरिएको भनिएका २६ देशमा अब बेलायत र आयरल्याण्डको नाम पनि थपिएको छ । सबै अमेरिकीलाई कोरोना भाइरसको निशूल्क परीक्षणको व्यवस्था गरिएको समेत उनले जनाएका छन् ।


सम्बन्धित समाचार