Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना भाइरसको छैटौं संक्रमित भेटियो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको छैटौं केस फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा छैटौं केसको रुपमा देखिएका कोरोना संक्रमित पनि गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएका थिए ।
उनी कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट नेपाल आएका थिए । यसअघि सोही फ्लाइटमा नेपाल आएका २ जना युवतीमा कोरोना संक्रमण देखिएको थियो । फ्रान्सबाट कतार आएकी १९ वर्षीया युवतीमा नेपालमा दोस्रो केसका रुपमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा ५ औं केसका रुपमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा कोरोना संक्रमण देखिनेको संख्या अहिलेसम्म ६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।
छैटौं केसको रुपमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि बाग्लुङ नै घर भएकी महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । अहिले उनको अवस्थाबारे भने थप जानकारी लिने प्रयास भइरहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार