Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको अन्तिम आह्वान

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी सदस्यहरूलाई अन्तिम आह्वान गरेको छ। पार्टीले जेठ २८ गतेसम्मको समयसीमाभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको हो।

कांग्रेसका अनुसार हालसम्म ४ लाख १७ हजार ७५३ क्रियाशील सदस्यले एनसीआईडी (नेपाली कांग्रेस डिजिटल परिचय नम्बर) प्राप्त गरिसकेका छन्। साथै ९८ हजार १४३ सदस्यले स्वयं अद्यावधिक फाराम भरेर प्रक्रिया अगाडि बढाएका छन्।

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आइतबार बसेको बैठकले सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणसम्बन्धी विभिन्न निर्णय गरेको हो। बैठक महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा र सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको थियो।

बैठकमा डिजिटल प्रणालीमा अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ठूलो संख्याले प्रक्रिया पूरा गरिसकेको जानकारी दिइएको छ। बाँकी सदस्यलाई तोकिएको समयभित्र अनिवार्य रूपमा अद्यावधिक प्रक्रिया सम्पन्न गर्न निर्देशन दिइएको छ।

कांग्रेसले आगामी महाधिवेशन पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल प्रणालीमा आधारित हुने निर्णय गरेको छ। महाधिवेशनमा सहभागी हुन एनसीआईडीलाई अनिवार्य आधार बनाइने भएकाले सदस्यता अद्यावधिकलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

बैठकले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, सांसद र जनप्रतिनिधिलाई जेठ २७ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ।

त्यस्तै, पार्टी अनुशासन समितिबाट कारबाहीमा परेका, अन्य राजनीतिक दलमा प्रवेश गरेका, आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका वा अन्य दलका उम्मेदवारको प्रस्तावक, समर्थक तथा प्रचारक बनेका व्यक्तिहरूको सदस्यता अभिलेखबाट हटाइने निर्णय पनि बैठकले गरेको छ।

नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया पनि निरन्तर अघि बढाइने कांग्रेसले जनाएको छ। विधानअनुसार योग्य नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत नयाँ क्रियाशील सदस्यता उपलब्ध गराउन पार्टीका सबै तहलाई निर्देशन दिइएको छ।

सदस्यता अद्यावधिकका क्रममा कुनै प्राविधिक समस्या आएमा पार्टीको आधिकारिक डिजिटल सहायता केन्द्रमार्फत सहयोग लिन कांग्रेसले अनुरोध गरेको छ। यसबारे जानकारी दिँदै कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सदस्यता व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियान जारी रहेको बताए।