Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्धको साइबर अपराध मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले जाहेरवाला मनिषा गौतमले पुनः पेस गरेका प्रमाणबारे प्रतिवादी पक्षलाई जानकारी गराउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार अधिवक्ता गौतमको मुद्दामा सुनुवाइ गर्दै पुनः पेस गरिएका प्रमाण र जिल्ला सरकारी वकिल कार्यालयको पत्रको जानकारी प्रतिवादी सुनारलाई गराउन आदेश दिएको हो।
यसअघि जाहेरवाला पक्षले प्रहरी तथा सरकारी वकिलमार्फत अदालतमा पेस गरेका अडियोसहितका महत्वपूर्ण प्रमाण अदालतको मिसिलबाटै हराएका थिए। प्रारम्भिक रूपमा पेस गरिएका प्रमाण हराएपछि गौतमले गत असोज १५ गते पुनः निवेदन दिँदै अडियो र अन्य प्रमाण जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेकी थिइन्।
सोही निवेदन र सरकारी वकिल कार्यालयको पत्रको जानकारी प्रतिवादी पक्षलाई गराई नियमानुसार पेस गर्न अदालतले आदेश दिएको हो।
अधिवक्ता मनिषा गौतमले सांसद खगेन्द्र सुनारविरुद्ध सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको र आफ्नो व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
गौतमको आरोपअनुसार सुनारले फेसबुकमा अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै उनको फोटो र मोबाइल नम्बर सार्वजनिक गरेका थिए। सोही उजुरीका आधारमा काभ्रे प्रहरीले अनुसन्धान गरी विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
यसअघि यही मुद्दामा अदालतले सुनारविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो। पछि अदालतमा उपस्थित भएका सुनार बयान र थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।
मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतको मिसिलबाट मुख्य अडियो प्रमाण गायब भएपछि जाहेरवाला पक्षले पुनः प्रमाण पेस गर्दै तिनको प्रमाणीकरण र अभिलेखीकरणका लागि निवेदन दिएको हो।
अदालतको पछिल्लो आदेशसँगै पुनः पेस गरिएका प्रमाणबारे प्रतिवादी पक्षलाई जानकारी गराउने प्रक्रिया अघि बढ्ने भएको छ।
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल