Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाद्यका खसीबोका बिक्री, खसीभन्दा च्याङ्ग्रा डबल

काठमाडौँ । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँ तोकेको हो । बजार हस्तक्षेप गर्ने उद्देश्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुला र मकवानपुरबाट काठमाडौं ल्याएका खसीबोका । उक्त मूल्य निजी व्यापारीले बिक्री गर्नेभन्दा प्रतिकिलो ४० रुपैयाँ सस्तो भएको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाएका छन् । यसअघि सरकारले सहुलियत पसलबाट बिक्री हुने जिउँदो खसीबोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ । सोहीअनुसार खाद्यले निर्धारण गरेको बिक्री मूल्यमा थप १० रुपैयाँ छुट दिइएको हो । खाद्यले व्यापारीले तोक्नेभन्दा मूल्य सस्तो भएको बताइरहँदा गत वर्षको तुलनामा भने मूल्य प्रतिकिलो ३० रुपैयाँ बढाएको छ । खाद्यले गत वर्षको दसैंमा प्रतिकिलो ६४० रुपैयाँ मूल्य तोकेको थियो । गत वर्षको तुलनामा ढुवानी भाडा बढेकाले मूल्य पनि बढाउनुपरेको खाद्यको दाबी छ । निजी व्यापारीहरूले तोक्ने मूल्यको तुलनामा भने खाद्यको भाउ सस्तो नै रहेको थापाको भनाइ छ । चौपाया खरिदबिक्री सेवा संघले मंगलबार तराईको खसी प्रतिकिलो ७१० देखि ७५० रुपैयाँ तोकेको छ । लोकल खसी प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ तोकेको छ । यस हिसाबले व्यापारिक खसीबोकाभन्दा खाद्यको सस्तो रहेको थापाको दाबी छ । खाद्यले च्यांग्राको मूल्य भने प्रतिकिलो १२६० रुपैयाँ निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२५० रुपैयाँमा बिक्री गर्ने खाद्यले जनाएको छ । संघले भने च्यांग्राको मूल्य प्रतिकिलो १३०० रुपैयाँ तोकेको छ । खाद्यका अनुसार खसीबोका किन्न जिल्ला प्राथमिक खरिद समिति हुन्छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसमेत सदस्य रहन्छन् । समितीले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ । प्रशासनिक खर्च, ढुवानी खर्च जोडेर मूल्य निर्धारण गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दाबी छ । बजारमूल्य हस्तक्षेप गर्ने उद्देश्यले कम्पनीले यसपालि २३ सय खसीबोकारच्यांग्रा किन्ने लक्ष्य राखेको छ । सोहीअनुसार खाद्यले मंगलबार २४३ वटा खसीबोका र च्यांग्रा भित्र्याएको थियो । बुधबार बिहानसम्म थप ६९१ वटा आइपुग्ने कम्पनीले जनाएको छ । खाद्य कम्पनीसँगै व्यावसायिक संघसंस्थाले पनि दसैंलक्षित खसीबोका खरिद प्रक्रिया सुरु गरिरहेका छन् । संघले असोज १३ देखि उपत्यका भित्र्याइने चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापाले जनाए । ‘अहिलेको बिक्री सामान्य अवस्थासरह नै हो । दसैंका लागि असोज १३ देखि भित्रिन सुरु हुन्छ । एक साताको दसैं बजारमा स्वदेशी उत्पादन ६० र भारतको ४० प्रतिशत आयात हुने उनले बताए । थापाका अनुसार यसपालिको दसैंमा करिब २५ हजारदेखि ३० हजार खसीबोका बिक्री हुने अनुमान छ । गत वर्षको दसैंमा करिब ४० हजार खसीबोका बिक्री भएका थिए । माग बढी भए तत्काल आयातसमेत गर्न सकिने संघले जनाएको छ ।