Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा श्रीमतीसहित ४ जनामाथि खुकुरी प्रहार हुँदा ३ जनाको अवस्था गम्भीर भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४३ वर्षीय नइन्द्रकुमार राईलाई नियन्त्रणमा लिएको छ ।
च्यास्मीटारस्थित जारबुङका राईले गएराति ससुराली घर आहालेमा पुगेर खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ । घाइतेमध्ये अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको उनले बताए ।
खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा चोट लागेको छ । नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
पीडित परिवारले राईले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको आरोप लगाएको छ । यद्यपि, घटनाको वास्तविक कारण र आक्रमणको उद्देश्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि च्यास्मीटार प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा आरोपित राई फरार भइसकेका थिए । त्यसपछि खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरभित्र सुतिरहेको अवस्थामा परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध खुकुरी प्रहार भएपछि गाउँमा तनाव सिर्जना भएको स्थानीयले बताएका छन् । घटनापछि रातभर गाउँको वातावरण तनावग्रस्त बनेको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार नेपाली सेनामा कार्यरत राई दसैँ मनाउन घर आएका थिए । श्रीमतीसँग सामान्य घरायसी विवाद भएपछि उनले ससुरालीमा पुगेर खुकुरी प्रहार गरेको बताइएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । प्रहरीले घटनाको कारण, आक्रमणको परिस्थिति र आरोपितको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल