Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अघिल्ला दुई निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापासँग प्रतिस्पर्धा गरेका एमालेका युवा नेता राजन भट्टराईले यसपटक चुनावी दौडबाट पछि हट्ने संकेत गरेका छन् । एमालेले हिजो प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारहरु छनोट गर्दा उनको निर्वाचन क्षेत्र काठमाडौं ४ बारे निर्णय लिएन । एमालेका सचिवसमेत रहेका भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रहरूमध्ये पर्छन् । भट्टराईलाई एमालेको काठमाडौं जिल्ला कमिटीले क्षेत्र नम्बर ४ बाट पहिलो नम्बरमा सिफारिस गरेको थियो । उनीसँगै १३ जना सिफारिस भएका छन् । अध्यक्ष ओली पनि भट्टराईलाई चुनावमा उठाउन चाहन्छन् । ४ नम्बरमा नउठे अन्य क्षेत्र रोज्न पनि विकल्प दिएका छन् । तर, भट्टराईले यसपटक चुनावमा भाग नलिने मनस्थिति बनाएको निकट स्रोत बताउँछ । स्रोतले भन्यो, यसपालि उहाँले काठमाडौंमा एमालेको बहुमत हुने गरी १५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई सघाउनुहुन्छ । उम्मेदवारका रूपमा नभएर चुनावी कमाण्डरका रूपमा एमालेलाई जिताउन लाग्नुहुन्छ । स्रोतका अनुसार आफू चुनावमा नउठ्ने मनस्थितिबारे भट्टराईले पार्टी अध्यक्ष ओलीलाई जनाउ दिएका छन् । ओलीले पनि पुनर्विचार गर्न आग्रह गरिरहेको बुझिएको छ । हालै भएको पार्टी महाधिवेशनमा सचिव जितेपश्चात भट्टराईले पार्टीको राजधानी प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् । राजधानी प्रदेश अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका १५ निर्वाचन क्षेत्रहरु रहेका छन् । आफू चुनावमा नउठी समग्र राजधानी प्रदेशको चुनावी कमाण्ड सम्हाल्ने उनको तयारी रहेको बुझिएको छ । भट्टराई स्वयंले भने यसबारे केही बताउन चाहेनन् । आफू उठ्ने वा नउठ्ने टुंगो नभइसकेको प्रतिक्रिया मात्रै दिए । काठमाडौं ४ बाट भट्टराईसँगै प्रदेश कमिटीका पूर्वसदस्य उद्धव खरेल, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, जिल्ला कमिटी सदस्य राजनकुमार पोखरेल, सरस्वती कार्की लगायत सिफारिस भएका छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल