Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गगनकुमार थापा नेपाली कांग्रेसको सभापति निर्वाचित हुने अपेक्षा अस्वाभाविक थिएन। २०८३ पुसमा भएको विशेष महाधिवेशनका सूत्रधारका रूपमा उनी पार्टीको नेतृत्वमा पुग्ने स्वाभाविक दाबेदार थिए। अन्ततः उनी सभापति निर्वाचित भए पनि प्रतिस्पर्धाविहीन भने रहेनन्। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्दा गगनको पक्षमा ६ हजार ५८४ मत खस्यो। महाधिवेशन प्रतिनिधिको ९३.८८ प्रतिशत समर्थनसहित उनी अब प्रश्न उठाउने ठाउँबाट प्रश्नको जवाफ दिनुपर्ने जिम्मेवारीमा पुगेका छन्।
यो लेख तयार पार्दासम्म पदाधिकारी र केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छैन। तर वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले गगनलाई साथ दिने अपेक्षा गरिएको छ। अहिलेसम्म देखाएको राजनीतिक नैतिकता र प्रतिबद्धताबाट विचलित नभए गगनसँग सभापतिका रूपमा काम गर्ने समय १ हजार ८२४ दिन छ। त्यसपछि उनी पनि बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मका पूर्वसभापतिहरूको पंक्तिमा पुग्नेछन्। इतिहासको त्यो पंक्तिमा उनको स्थान कस्तो हुनेछ, त्यसको फैसला पदावधिका यी दिनहरूले नै गर्नेछन्।
गगनले आफ्नो राजनीतिक यात्राका विभिन्न चरण स्मरण गरिरहन्छन्। बालकांग्रेसबाट सुरु भएको यात्रा, नेपाल विद्यार्थी संघमा बिताएका दिन र पार्टीको मूलधारको राजनीतिमा प्रवेश गर्दासम्मका अनुभव उनका राजनीतिक भाषणका नियमित विषय हुन्। सभापतिसम्म आइपुग्न उनले करिब ३५ वर्ष राजनीतिक जीवन बिताएका छन्।
बालकांग्रेसको समयलाई छाडेर हेर्दा २०५३ सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव र २०५५ सालमा सभापति बनेपछि गगनको सार्वजनिक राजनीतिक परिचय स्थापित भएको हो। २०५७ सालमा नेपाल विद्यार्थी संघको उपसभापति र २०५९ सालमा महामन्त्री बनेपछि उनको राजनीतिक व्यक्तित्व थप परिपक्व हुँदै गयो।
त्यतिबेला नेपाली कांग्रेस आफैँ सत्ताको उन्मादमा रमाइरहेको थियो। विपक्षी दलहरू आलोचनाका लागि आलोचना गर्ने प्रवृत्तिबाट मुक्त थिएनन्। सत्ता प्राप्तिलाई नै राजनीतिको अन्तिम लक्ष्य ठान्ने प्रवृत्तिले नेपालको राजनीतिलाई अस्थिर र अविश्वसनीय बनाइरहेको थियो। यही समयमा गगनले कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पार्टी नेतृत्वबाट पन्छाइएको, कांग्रेस विभाजित भएको र निरंकुशताले पुनः टाउको उठाएको देखे।
राजा वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए। राजनीतिक दलहरूले विरोध गरे पनि जनतामा नेताहरूप्रति विश्वास कमजोर भएकाले उनीहरूले अपेक्षित जनसमर्थन जुटाउन सकेनन्। गगन भने नेपाल विद्यार्थी संघको महामन्त्रीका रूपमा सडकमा थिए। उनले शाही कदमको विरोध मात्रै गरेनन्, गणतन्त्रको पक्षमा खुलेर आवाज उठाए।
त्यतिबेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासहित शीर्ष नेताहरू गणतन्त्रको पक्षमा स्पष्ट रूपमा उभिन सकेका थिएनन्। कांग्रेसभित्रै गगन र नरहरि आचार्यको गणतन्त्रवादी अडानको विरोध भयो। कोइरालाले उनीहरूलाई दरबारसँग निकट रहेको आरोपसमेत लगाए। पार्टीका शीर्ष नेताहरू घरभित्र सीमित भइरहँदा गगनहरू भने सडकमा गणतन्त्रको नारा लगाइरहेका थिए।
‘राजतन्त्र र गणतन्त्र सँगै रहन सक्दैनन्’ भन्ने उनको उद्घोषले राजनीतिक वृत्तमा तरंग पैदा गर्यो। त्यसको परिणामस्वरूप उनले राजद्रोहको मुद्दासमेत खेप्नुपर्यो। तर राजनीतिक जोखिम उठाएर अघि बढ्ने उनको छविले उचाइ प्राप्त गर्दै गयो।
गगनको बढ्दो प्रभाव तत्कालीन पार्टी नेतृत्वलाई सहज लागेन। गिरिजाप्रसाद कोइरालाले गुरु घिमिरे सभापति र गगन महामन्त्री रहेको नेपाल विद्यार्थी संघको कार्यसमिति विघटन गरे। त्यसपछि केशव सिंहलाई सभापति तोकेर पोखरामा अधिवेशन गर्ने जिम्मेवारी दिइयो।
गगन हिरासतमा थिए। यता पोखरामा उनलाई सभापति बनाउने पक्षमा माहोल बन्दै थियो। नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटन गर्न पोखरा पुगेका गिरिजाप्रसाद कोइरालाले गणतन्त्रका विषयमा स्पष्ट अभिव्यक्ति दिएनन्। संयोगवश, उनी काठमाडौं फर्कन विमानस्थल पुगेकै बेला गगन हिरासतबाट छुटेर पोखरा आइपुगे।
विमानस्थलमा उनीहरूको भेट भए पनि गगनले पार्टी नेतृत्वबाट अपेक्षित सद्भाव पाएनन्। उनी अधिवेशनस्थल पोखरा सभागृह पुगे र मञ्चमा नभई बाहिरबाटै प्रभावशाली भाषण गरे। संस्थापन पक्षसँग असहमत गगनमाथि आक्रमणको प्रयाससमेत भयो। अधिवेशन अवरुद्ध भयो र अन्ततः कांग्रेसले महेन्द्र शर्मालाई नेपाल विद्यार्थी संघको सभापति बनायो। पद नपाए पनि गगन शाही शासनविरुद्ध निरन्तर सक्रिय रहे।
त्यतिबेला कांग्रेसको विधानमा संवैधानिक राजतन्त्रको व्यवस्था कायमै थियो। तर गगन र नरहरि आचार्यजस्ता नेताहरू गणतन्त्रको पक्षमा उभिइरहे। शाही शासन कठोर बन्दै जाँदा गणतन्त्रको पक्षमा जनमत पनि बढ्दै गयो।
अन्ततः २०६२ भदौ १४ गते गिरिजाप्रसाद कोइरालाले कांग्रेसको नीति परिवर्तन गर्नुपर्ने अवस्था आएको स्वीकार गरे। उनले राजाले आफ्नो प्रतिबद्धता बदलेपछि कांग्रेसले पनि आफ्नो प्रतिबद्धता बदल्न सक्ने तर्क प्रस्तुत गरे। काठमाडौंमा भएको कांग्रेसको एघारौँ महाधिवेशनले विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णय गर्यो। गगनहरूले उठाउँदै आएको गणतन्त्रको मुद्दा पार्टीको आधिकारिक राजनीतिक धारमा प्रवेश गर्यो। तर त्यसपछि पनि गगन नेपाल विद्यार्थी संघको सभापति बन्न सकेनन्।
नेविसंघको चितवन अधिवेशनमा उनले प्रदीप पौडेललाई समर्थन गरे। गणतन्त्र स्थापनापछि उनी पार्टीको मूलधारको राजनीतिमा सक्रिय भए र काठमाडौं क्षेत्र नम्बर ४ को सभापति बने। गिरिजाप्रसाद कोइरालाका लागि पनि उनी महत्त्वपूर्ण राजनीतिक पात्र बनिसकेका थिए। कोइरालाकै पहलमा गगन २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बने र पार्टीको ‘स्टार प्रचारक’का रूपमा देशभर परिचालित भए।
त्यसयता उनी दुई कार्यकाल संविधानसभा सदस्य र दुई कार्यकाल सांसद बने। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका गगनले सुधारका केही उल्लेखनीय प्रयास गरे। मन्त्रीका रूपमा उनले आफूलाई औसतभन्दा माथिको कार्यसम्पादन गर्ने नेताका रूपमा स्थापित गर्ने प्रयास गरे।
कांग्रेसको तेह्रौँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बने पनि डा. शशांक कोइरालासँग पराजित भए। चौधौँ महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री निर्वाचित भए। त्यसपछि विश्वप्रकाश शर्मा पनि महामन्त्री बने। पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुद्दामा गगन र विश्वप्रकाश एकै ठाउँमा उभिए। उनीहरूले सभापति शेरबहादुर देउवामाथि नेतृत्व परिवर्तनका लागि निरन्तर दबाब दिइरहे।
कांग्रेसको विधानअनुसार शेरबहादुर देउवाका लागि पुनः सभापति बन्ने बाटो बन्द हुँदै थियो। उनी पाँचपटक प्रधानमन्त्री र दुई कार्यकाल पार्टी सभापति भइसकेका थिए। तर सत्ताप्रतिको उनको आकर्षण घटेको देखिएन।
बढ्दो उमेर, परिवार र गुटको घेराबन्दी तथा छैटौँपटक प्रधानमन्त्री बन्ने आकांक्षाले देउवाको राजनीतिक विरासत कमजोर बनाउँदै लग्यो। डडेल्धुराबाट संघर्ष गरेर राष्ट्रिय राजनीतिमा स्थापित भएका देउवा क्रमशः कार्यकर्ता र आम नागरिकको पहुँचबाट टाढिँदै गए। तल्लो तहका कार्यकर्ताका गुनासा र जनताको असन्तुष्टि उनीसम्म पुगेनन् वा पुगे पनि पर्याप्त महत्त्व पाएनन् भन्ने आलोचना बढ्दै गयो।
२०८२ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सत्ता साझेदारीको सहमतिमा निर्भर रहेका बेला देशमा जेनजी आन्दोलन भयो। भदौ २३ र २४ गतेको आन्दोलनले ओलीलाई सत्ताबाट हटायो भने देउवामाथि पनि गम्भीर आक्रमण भयो र उनको निवास जलाइयो।
भदौ २४ को घटनाबाट गगन पनि अछुतो रहेनन्। तर त्यसपछि कांग्रेसभित्र उनले उठाउँदै आएको पुस्तान्तरणको मुद्दा झन् सान्दर्भिक बन्यो। पार्टी नेतृत्वमा परिवर्तन गर्नुपर्ने आवाज तीव्र भयो। समयको संकेत बुझेर देउवाले तत्काल महाधिवेशन आह्वान गरेको भए परिस्थितिलाई फरक ढंगले व्यवस्थापन गर्न सक्थे। तर उनले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर जाने निर्णय गरे।
विशेष महाधिवेशनको माग गरिरहेका गगन र विश्वप्रकाश पक्षलाई रोक्ने प्रयास भयो। तर विशेष महाधिवेशन रोकिएन। देउवाको पछि लाग्दा पूर्णबहादुर खड्काको राजनीतिक निष्ठामाथि पनि प्रश्न उठ्यो। अन्ततः विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भए र कांग्रेसको नेतृत्व परिवर्तन भयो।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि गगन ‘बदल्छौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिए। उनले पुरानो संस्थापन समूहमा रहेका र विशेष महाधिवेशनमा सहभागी नभएका केही नेताहरूलाई समेत टिकट दिएर आफ्नो नेतृत्व समावेशी र शक्तिशाली देखाउने प्रयास गरे।
तर त्यतिबेलासम्म देशको राजनीतिक मनोविज्ञान बदलिइसकेको थियो। जेनजी आन्दोलनपछि जनताले पुरानो राजनीतिक अभ्यासबाट मुक्ति खोजिरहेका थिए। कांग्रेसको नेतृत्वमा नयाँ अनुहार आए पनि प्रदेश र स्थानीय तहमा रहेका पुरानै नेताहरूको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि कायमै थियो। जनताको नजरमा कांग्रेसको नेतृत्व मात्रै बदलिएर पुग्ने अवस्था थिएन।
सभापति निर्वाचित भएपछि काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका गगनलाई मतदाताले विश्वास गरेनन्। उनीहरूबाट ‘चुपचाप, घण्टी छाप’ भन्ने सन्देश प्राप्त भयो। यसले एउटा कठोर राजनीतिक सत्य उजागर गर्यो—नेतृत्व परिवर्तन हुँदैमा पार्टीको छवि बदलिँदैन।
गगनका लागि सभापतिका रूपमा सबैभन्दा ठूलो चुनौती यही हो। कांग्रेसलाई जनताले कसरी हेर्छन् भन्ने कुरा उनले बुझेको संकेत उनको महाधिवेशन उद्घाटन मन्तव्यमा पनि देखियो। उनले कांग्रेसको कुनै पदमा रहेको भनेर चिनिनुभन्दा समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति कांग्रेससँग आबद्ध छ भनेर चिनिनु महत्त्वपूर्ण हुने धारणा राखे।
कांग्रेसको इतिहास गौरवशाली छ। २००७ सालदेखि नेपालका प्रमुख राजनीतिक परिवर्तनमा पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको छ। तर इतिहासको योगदानलाई वर्तमानको उपलब्धि ठानेर मात्रै जनताको विश्वास जित्न सकिँदैन। ‘हिजो कांग्रेसले यस्तो गरेको थियो, त्यसैले आज पनि कांग्रेसलाई मत दिनुपर्छ’ भन्ने आग्रहको प्रभाव घटिसकेको छ।
गगनले पनि इतिहासको महत्त्वलाई वर्तमानको कर्मसँग जोड्नुपर्ने बताएका छन्। इतिहास गौरवको विषय भए पनि त्यसले आफैँ शक्ति प्रदान गर्दैन; त्यसबाट सिकेको पाठलाई आजको व्यवहारमा उतार्न सके मात्रै इतिहास वर्तमानको शक्ति बन्न सक्छ।
समयको गति र जनताको चाहना बुझ्न नसक्दा स्थापित राजनीतिक दलहरू कसरी कमजोर हुन्छन् भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन। नेपालकै प्रजापरिषद् वा भारतको कांग्रेस आईको राजनीतिक यात्राले पनि पुरानो योगदान मात्रै भविष्यको सुनिश्चितता होइन भन्ने देखाउँछ।
कांग्रेस अब बीपी वा गिरिजाप्रसाद कोइरालाको समयमा जस्तो कार्यकर्ता भएको पार्टी रहेन। पार्टीभित्र अवसर, पहुँच र स्वार्थका आधारमा सक्रिय हुने प्रवृत्ति बढेको आलोचना छ। त्यसैले गगनको पहिलो काम पार्टीलाई बिचौलिया प्रवृत्तिबाट मुक्त गराउनु र राजनीतिक निष्ठा भएका कार्यकर्ताको संगठन निर्माण गर्नु हो।
विशेष महाधिवेशनले समाजमा विशिष्टता हासिल गरेका व्यक्तिलाई सोझै पार्टी सदस्यता दिने अर्थात् ‘ल्याटरल इन्ट्री’को नीति अघि सारेको छ। तर नीति घोषणा गर्नु र त्यसलाई व्यवहारमा उतार्नु फरक कुरा हुन्। पार्टीभित्र लामो समयदेखि शक्ति जमाएर बसेका समूहको प्रभाव कम गर्दै निष्कलंक, सक्षम र समाजमा विश्वसनीय व्यक्तिलाई नेतृत्वमा ल्याउन सजिलो छैन।
सबैलाई समेट्ने र पार्टीभित्र एकता कायम गर्ने नाममा गगनले पनि केही विवादास्पद प्रवृत्तिसँग सम्झौता गर्नुपर्ने अवस्था आएको देखिन्छ। यदि पार्टीको पुरानो संरचनामा वास्तविक परिवर्तन गर्न सकिएन भने नयाँ सदस्य भित्र्याउने नीति पनि प्रतीकात्मक अभ्यासमै सीमित हुन सक्छ। समाजको ठूलो हिस्साले नयाँ राजनीतिक विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई रोजिरहेको वर्तमान अवस्थामा कांग्रेसले यो चुनौतीलाई सामान्य रूपमा लिन मिल्दैन।
कांग्रेसभित्रै ‘घण्टी कांग्रेस’ भन्ने अभिव्यक्ति सुनिनु पार्टीको जनाधार खस्किएको संकेत हो। रास्वपा सभापति रवि लामिछानेले कांग्रेसको महाधिवेशनमै उपस्थित कतिपय प्रतिनिधिले अघिल्लो निर्वाचनमा घण्टीमा मत दिएको हुन सक्ने टिप्पणी गर्नु पनि यही राजनीतिक यथार्थसँग सम्बन्धित छ।
पार्टीको शक्ति क्रियाशील सदस्यको संख्याले मात्रै मापन हुँदैन। विचारप्रति प्रतिबद्ध, अनुशासित र जनतासँग जोडिएका कार्यकर्ता कति छन् भन्ने कुराले संगठनको वास्तविक सामर्थ्य निर्धारण गर्छ। यसका लागि कार्यकर्तालाई पार्टीको आर्थिक तथा सामाजिक नीति बुझाउनुपर्छ, महाधिवेशनले पारित गरेका निर्णय जनतासम्म पुर्याउनुपर्छ र व्यवहारबाट विश्वास जित्नुपर्छ। गगनले पुराना १० लाख कार्यकर्ता फर्काउने प्रतिबद्धता जनाएका छन्। अब त्यो प्रतिबद्धता भाषणमा सीमित हुन्छ कि संगठन निर्माणको ठोस योजनामा रूपान्तरण हुन्छ, त्यसले उनको नेतृत्वको दिशा निर्धारण गर्नेछ।
अर्कोतर्फ, देउवा नेतृत्वको पुरानो संस्थापन समूहले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ। विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालत पुगेको यो समूह कानुनी मान्यताका लागि मात्रै नभई पार्टीभित्र आफ्नो राजनीतिक प्रभाव जोगाउन पनि सक्रिय देखिन्छ। अन्ततः चारतारे झण्डा र रुख चुनाव चिह्नको वैधानिक अधिकार कसले पाउने भन्ने विषय अदालतबाट निरुपण हुन सक्छ। तर कानुनी निर्णय नआउँदासम्म पुरानो संस्थापन समूहका गतिविधि र त्यसले पार्टी संगठनमा पार्न सक्ने प्रभाव व्यवस्थापन गर्नु पनि गगनका लागि चुनौती हुनेछ।
प्रदेश तथा स्थानीय तहका निर्वाचन नजिकिँदै छन्। सत्तारूढ रास्वपाले पनि चुनावी तयारी अघि बढाइरहेको छ। वर्तमान अवस्थामा जनताको विश्वास रास्वपाप्रति कायम रहे कांग्रेसको मुख्य प्रतिस्पर्धी त्यही पार्टी हुनेछ।
कांग्रेसका लागि चुनौती केवल राष्ट्रिय नेतृत्व परिवर्तनको होइन, स्थानीय तहमा आफ्नो छवि सुधार्ने पनि हो। प्रदेश र स्थानीय तहमा पुरानै विवादित अनुहार दोहोरिए वा जनताले अस्वीकार गरिसकेका व्यक्तिलाई उम्मेदवार बनाइयो भने कांग्रेसले बाँकी रहेको राजनीतिक प्रभावसमेत गुमाउन सक्छ।
तत्काल संघीय सत्तामा फर्कने सम्भावना कांग्रेसका लागि सहज देखिँदैन। तर प्रदेश र स्थानीय तहमा समेत प्रभाव गुमाउँदा पार्टी जनतासँग कसरी जोडिइरहन्छ भन्ने प्रश्न अझ गम्भीर बन्नेछ। वडा र पालिकासम्म संगठन कमजोर भयो भने त्यसको असर पार्टीको दीर्घकालीन अस्तित्वमा पर्नेछ।
गगनले सत्ताप्रति तत्काल हतारो नदेखाए पनि राजनीतिक दलको उद्देश्य सत्ता प्राप्ति नै हो। सत्ता आफैँमा गलत होइन; त्यसको प्रयोग कसका लागि र कसरी गरिन्छ भन्ने महत्त्वपूर्ण हो। गगनले वर्तमान सत्ताको विकल्प बन्ने उद्घोष गरिसकेका छन्। उनले लोकतन्त्र र प्रभावकारी सेवा प्रवाह, स्वतन्त्रता र समृद्धि तथा अनुभव र ऊर्जाबीच पुलको काम कांग्रेसले गर्ने बताएका छन्।
तर यस्तो दाबीलाई जनताले विश्वास गर्न कांग्रेसले आफ्नो संगठन, नेतृत्व चयन र सार्वजनिक व्यवहारमा परिवर्तन देखाउनुपर्छ। आगामी निर्वाचन गगनका लागि यही परिवर्तनको पहिलो ठूलो परीक्षा हुनेछ।
गगनको नेतृत्वको अर्को महत्त्वपूर्ण परीक्षा संसद् र सरकारसँगको सम्बन्धमा हुनेछ। वर्तमान प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नेतृत्वको सरकार संसद्प्रति पर्याप्त उत्तरदायी नदेखिएको आलोचना भइरहेको छ। प्रधानमन्त्रीले संसद्भन्दा सामाजिक सञ्जाललाई अभिव्यक्तिको प्रमुख माध्यम बनाएको, संवैधानिक निकायहरूमाथि दबाब सिर्जना गरेको र अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै प्रश्न उठेका छन्।
संसदीय मूल्य र मान्यताप्रतिको उदासीनता तथा सुरक्षा निकायमाथिको बढ्दो निर्भरताले लोकतान्त्रिक प्रणालीको भविष्यबारे बहस जन्माएको छ। प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले सरकारका यस्ता कदमको निगरानी र आलोचना गर्नु स्वाभाविक जिम्मेवारी हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको भूमिकामाथि अहिलेसम्म गम्भीर असन्तुष्टि जनाउनुपर्ने अवस्था नदेखिए पनि आगामी दिन सहज हुने छैनन्। झन्डै दुईतिहाइ बहुमतको सरकारले लोकतान्त्रिक मूल्य र संसदीय मान्यताविपरीत कदम चाल्न खोजे त्यसलाई रोक्न प्रतिपक्ष सक्षम हुनुपर्छ। आवश्यक परे संसद् र सडक दुवैबाट सशक्त प्रतिरोध गर्न सक्ने संगठन कांग्रेससँग हुनुपर्छ।
गगन स्वयं सांसद नभए पनि पार्टी सभापतिका रूपमा प्रतिपक्षको राजनीतिक दिशा निर्धारण गर्ने जिम्मेवारी उनकै काँधमा छ। सरकारका गलत कदमको विरोध गर्नु जति आवश्यक छ, संविधान संशोधनजस्ता राष्ट्रिय मुद्दामा सहमति जुटाउन र जनहितका काममा रचनात्मक सहयोग गर्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चासोबाट अलग छैन। कांग्रेसको इतिहासमा पनि बाह्य शक्तिसँगको सहकार्य र सम्बन्धका विभिन्न प्रसंग छन्। तर राष्ट्रिय स्वार्थभन्दा सत्ता प्राप्तिलाई प्राथमिकता दिने प्रवृत्तिबाट पार्टी मुक्त हुनुपर्छ। कुनै पनि बाह्य शक्तिसामु सत्ताका लागि निर्भर हुने व्यवहार गगनका लागि राजनीतिक रूपमा असुहाउँदो मात्रै होइन, राष्ट्रिय हितका दृष्टिले पनि जोखिमपूर्ण हुनेछ।
गगन नेतृत्वको कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएको छ। कुनै समय ठूलो र बोझिलो संगठनको आलोचना गर्ने गगनले अहिले यस्तो निर्णय लिनुपर्नुको कारण राजनीतिक बाध्यता र आन्तरिक शक्ति सन्तुलन हुन सक्छ। तर बढाइएको संरचना विचार निर्माण, नीति बहस र संगठन सुधारको थलो बन्छ कि केवल पद बाँडफाँट र भाषणको मञ्चमा सीमित हुन्छ भन्ने कुरा नेतृत्वको कार्यशैलीमा निर्भर हुनेछ।
गगनसँग प्रश्न उठाउने क्षमता छ भन्ने कुरा उनको राजनीतिक इतिहासले देखाएको छ। तर सभापतिका रूपमा अब उनको मूल्यांकन प्रश्न उठाएको आधारमा होइन, ती प्रश्नको समाधान खोज्न सकेको आधारमा हुनेछ।
सत्तामा नभएकाले उनीसँग कार्यकर्तासँग प्रत्यक्ष जोडिने र देशभर संगठन सुदृढ गर्ने अवसर छ। सांसद नभएकाले संसद्को नियमित जिम्मेवारीबाट मुक्त रहेर देशव्यापी अभियान सञ्चालन गर्न पनि सक्छन्। मेचीदेखि महाकालीसम्म पुगेर जनताको असन्तुष्टि सुन्ने, संगठनको अवस्था बुझ्ने र नयाँ राजनीतिक विकल्पको आधार तयार गर्ने अवसर उनीसँग छ।
तर समय तीव्र गतिमा अघि बढिरहेको छ। कांग्रेसभित्र परिवर्तनको अपेक्षा ठूलो छ, जनताको धैर्य सीमित छ र प्रतिस्पर्धी दलहरू आफ्नो प्रभाव विस्तार गर्न सक्रिय छन्। पाँच वर्षपछि विश्वप्रकाश शर्मालाई सभापतिको जिम्मेवारी हस्तान्तरण गर्ने राजनीतिक प्रतिबद्धता पूरा गर्नुपर्ने अवस्था पनि छ। त्यसअघि कांग्रेसलाई पुनः बलियो बनाएर राष्ट्रिय सत्ताको विकल्पका रूपमा स्थापित गर्नु गगनको मुख्य लक्ष्य हुनेछ।
गगनले कांग्रेसको नेतृत्व त परिवर्तन गरेका छन्, तर कांग्रेसको चरित्र परिवर्तन गर्ने काम अझै बाँकी छ। पुराना कार्यकर्ताको निष्ठा फर्काउने, नयाँ पुस्तालाई आकर्षित गर्ने, विवादित अनुहारको प्रभाव घटाउने, नीति र विचारलाई व्यवहारमा उतार्ने तथा सरकारलाई जवाफदेही बनाउन सक्ने प्रतिपक्ष निर्माण गर्ने काम एकैपटक गर्नुपर्नेछ।
त्यसैले गगनको सभापति पदको सफलता निर्वाचनमा प्राप्त मतको आकारले मात्रै निर्धारण गर्ने छैन। उनको नेतृत्वमा कांग्रेसले जनताको विश्वास कति पुनःप्राप्त गर्छ, राजनीतिक संस्कार कति बदल्छ र देशका लागि कस्तो विकल्प प्रस्तुत गर्छ भन्ने कुराले इतिहासमा उनको स्थान तय गर्नेछ।
उनका लागि समय छ—तर पर्याप्त छैन। अब गगनले विगतमा आफूले उठाएका प्रश्नको जवाफ आफ्नै नेतृत्वबाट दिनुपर्नेछ। कांग्रेस बदल्ने अवसर उनका हातमा छ। त्यो अवसरलाई परिणाममा बदल्न सके उनी पार्टीको इतिहासमा नयाँ अध्याय लेख्नेछन्; नसके उनको नेतृत्व पनि कांग्रेसका धेरै अधुरा सुधारका प्रयासमध्ये एउटा बनेर सीमित हुनेछ।
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल