Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्जबाट सुरु भएर पर्सा, धनुषा र सिरहालगायत मधेसका विभिन्न जिल्लामा फैलिएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवसहित नेपाली नागरिकको मृत्यु तथा दर्जनौं व्यक्ति घाइते भएको घटनालाई अत्यन्त दुःखद बताएका छन्।
बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले यस्तो संवेदनशील अवस्थामा सरकारले प्रभावकारी नेतृत्व दिन नसकेको आरोप लगाए। तनाव र कर्फ्युका बीच नागरिकले सरकार खोज्दा सरकार, विशेषगरी गृह प्रशासन, जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको उनको टिप्पणी थियो।
प्रधानमन्त्रीले गृह मन्त्रालयअन्तर्गत छानबिन समिति गठन गर्ने घोषणा गरेको उल्लेख गर्दै थापाले त्यसले मात्र पर्याप्त नहुने बताए। घटनाको निष्पक्ष सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्वतन्त्र तथा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न उनले माग गरे।
थापाले घटनाको जिम्मेवारी संघीय सरकारसँगै मधेस प्रदेश सरकारको पनि रहेको उल्लेख गर्दै आफूले प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए। अहिले शान्ति स्थापना र सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि र समुदायले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
कांग्रेसका नेता–कार्यकर्तालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र बन्धुत्व कायम राख्न सक्रिय हुन निर्देशन दिँदै हिंसा, उत्तेजना वा भ्रामक सूचना फैलाउने गतिविधिमा संलग्न जोसुकैलाई पार्टीले स्वीकार नगर्ने चेतावनी पनि उनले दिए।
युवापुस्तालाई विशेष अपिल गर्दै थापाले हिंसा र घृणाको राजनीति कसैको हितमा नहुने बताए। सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै उनले अहिलेको संवेदनशील अवस्थाको फाइदा उठाएर समाजलाई विभाजित गर्न खोज्ने शक्तिप्रति सचेत रहन सबैलाई अनुरोध गरेका छन्।
उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको भए त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्ने र हिंसा तथा आगजनीमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
२०८३ श्रावण १५
ताजा नेपाल
२०८३ श्रावण १५
ताजा नेपाल
२०८३ श्रावण १४
ताजा नेपाल