Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गच्छदारमाथि राजनीतिक प्रतिसोध साधेको काँग्रेसको निश्कर्ष

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक मंगलबारदेखि शुरुचारु भएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विरोध जनाउँदै आएको नेपाली कांग्रेसले मंगलबार भने संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।
मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई लिएर अब संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो । बालुवाटारको ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
जसमध्येका १ सय १० जनालाई भ्रष्टाचार गरेको अभियोगमा बिगो तथा सजाय मागदाबी गर्दै प्रतिवादी बनाइएको थियो भने ६५ जनालाई जग्गा तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।
अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारलाई समेत भ्रष्टाचार गरेको भन्दै प्रतिवादी बनाएको थियो । अख्तियारले गच्छदारविरुद्ध ९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
बुधबार मुद्दा दर्ता भएयता कांग्रेसले ३ वटा प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । गत बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधिसभा बैठक कांग्रेसको अवरोधका कारण स्थगित गरिएको थियो । मंगलबार निर्धारित समयभन्दा केही ढिला शुरु भएको बैठकमा नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले उठेर समय माग्दै आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका नेता गच्छदारविरुद्ध राजनीति प्रतिशोधका आधारमा मुद्दा दर्ता गरिएको बताइन् ।
अख्तियार जस्तो संवैधानिक अंगले सरकारको छायाँ बनेर काम गरेको भन्दै भुसालले आपत्ति समेत जनाइन् । राजद्रोहका मुद्दा लागेका बेला तत्कालीन नेता वीपी कोइरालाले समेत अदालतको सम्मान गरेको उल्लेख गर्दै भुसालले कांग्रेसबाट न्यायपालीकाको निष्पक्षता र तटस्थतामाथि अविश्वास प्रकट नभएको बताइन् ।
कांग्रेस सचेत भुसालले संसद पनि सरकारको प्रभावबाट चल्न खोजे आफ्नो पार्टी चुप लागेर नबस्ने चेतावनी पनि दिइन् ।


सम्बन्धित समाचार