Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धन टुट्ला कि एमाले रित्तिएला ?

काठमाडौं । सत्ता गठबन्धमा टुटफुट हुँदैन भने अबको राष्ट्रिय सभा चुनावमा कुनै सिट जित्ने सम्भावना नरहेपछि नेकपा एमालेले सत्तारुढ गठबन्धनका दलसँग साझेदारी प्रयास थालेको छ। त्यसका लागि एमालेका दोस्रो तहका नेता सक्रिय छन्। सत्ता गठबन्धनका दलले राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्। यस्तो अवस्थामा एमालेले राष्ट्रिय सभामा ८ सिट गुमाउने निश्चित छ। हाल ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका १७ सांसद छन्। जसमध्ये ८ जनाको पदावधि समाप्त हुँदैछ। त्यसो हुन नदिन एमालेले गठबन्धन दलसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ। राष्ट्रिय सहमति जुटाएर भए पनि राष्ट्रिय सभामा केही सिट जित्ने योजना एमालेले बनाएको नेताहरु बताउँछन्। एमालेले सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसलाई मिलेर जाने औपचारिक प्रस्ताव राखिसकेको अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले जानकारी दिए। कांग्रेसभित्र पनि केन्द्रीय सदस्य शेखर कोइराला पक्षसँग एमालेका दोस्रो तहका पदाधिकारी छलफलमा छन्। सभापति शेरबहादुर देउवा एमालेसँग मिल्न तयार नभएपछि एमालेले अर्को बाटो अपनाएको ती नेताले बताए। एमाले र कांग्रेस मात्र मिलेको खण्डमा राष्ट्रिय सभामा अन्य दलले कुनै सिट जित्न सक्दैनन्। त्यति मात्र होइन, शेखर पक्षले समर्थन गर्दा मात्र पनि केही स्थानमा एमालेले जित्न सक्छ। यद्यपि, केन्द्रीय कार्यसमितिमा सभापति देउवाको प्रष्ट बहुमत रहेकोले कोइराला पक्ष पार्टी निर्णय विपरीत जाने सम्भावना न्यून छ। कांग्रेससँग मात्र होइन, एमालेका नेताहरु समानान्तर तवरले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि छलफलमा छन्। दुबै दलसँग मिलेर जान प्रस्ताव गरिएको एमालेका अर्का पदाधिकारीले जानकारी दिए। ६ वर्षे कार्यकाल पूरा भएका १९ सदस्यको लागि आगामी माघ ११ गते चुनाव तोकिएको छ। राष्ट्रिय सभामा एमालेबाट सबैभन्दा बढी ८ जना रिक्त हुँदैछन्। यसैगरी कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २ र जनता समाजवादी पार्टी बाट १ जना रिक्त हुँदैछन्। यसैगरी एक स्वतन्त्रको पनि पदावधि सकिँदैछ। सत्ता गठबन्धनले एमालेबाट रिक्त हुने ८ ठाउँ भागबण्डा गर्दैछन्। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गठबन्धन कायम राखेर जाने निर्णय गरेको छ। यो निर्णयपछि अझै सत्ता गठबन्धनसँगै मिल्ने प्रयासमा एमाले छ। प्रचार विभाग प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धन दलसँग छलफलको प्रक्रियामा रहेको बताए।


सम्बन्धित समाचार