Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धन फुटाउन ओलीको अन्तिम प्रहार

काठमाडौं। गठबन्धन फुटाउन सके एमसीसी ठिक, फुटाउन नसके पुरानै संसदको अवरोध कायम राख्ने अडानमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन फुटाउन अन्तिम प्रहारमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्न नेकपा एमालेको साथ विना असम्भव हुने निष्कर्षमा पुगेको बुझिएको छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा जाने निर्णय नै गरेपछि देउवाका लागि एमसीसी पारित गर्नु चुनौतीपूर्ण बनेको हो ।
देउवाले अब एमसीसीबाट ब्याक हुने या एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति निकाल्नुपर्ने बाहेकको विकल्प रहेन । त्यसैले उनी ओलीलाई मनाउने सक्रिय भएका छन् । देउवाले दुईपटक बालकोट पुगी ओलीसँग राजनीतिक लेनदेनको प्रयास गरेका छन् । उनले ५ फागुनको साँझ पत्नी आरजु देउवासहित पुगेर ओलीलाई फकाउन खोजे । प्रदेश देखि केन्द्रसम्म सत्ता साझेदारीको कुरा गरे । देउवाले सत्ता छाड्नेबाहेकमा सहमति गर्न खोजे । तर, ओलीले आलोपालो प्रधानमन्त्रीको प्रस्ताव गरेको बुझिएको छ ।
देउवाले ओलीलाई १० फागुनमा बालुवाटार डाकेर कुराकानी गरेका छन् । एमसीसी पास गर्न साथ दिन भन्दै राजनीतिक लेनदेनको कुरा गरेको बुझिएको छ । ओलीले सत्ता साझेदारी देखि सभामुखको बर्हिगमनलगायतका विषयमा चासो राखेको विश्वस्त स्रोतले बताएको छ । देउवा सबै विकल्पमा छलफलका लागि तयार भएको बुझिएको छ । तर, आफ्नै नेतृत्वको सरकारबाट चुनाव गराउनेमा देउवाले सम्झौता गर्न चाहेनन् ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये एमसीसीमा एमालेले मात्र निर्णय लिन बाँकी छ । अरुले धारणा बनाइसकेका छन् । ९७ सांसद रहेको एमालेको साथ भएमा एमसीसी भारी बहुमतले पारित हुन्छ । तर, एमालेमा पनि एमसीसी विरोधी सांसदहरु तयार भइसकेका छन् । काँग्रेस र एमाले मिलेमा २० एमाले सांसदले विद्रोह गर्दा पनि एमसीसी दुई दलको साथले पास हुन सक्छ ।