Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणेश नेपालीको मृत्यु प्रकरणमा संसद्मा निष्पक्ष छानबिनको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद वासना थापालाई बोल्ने समय उपलब्ध गराएका थिए।

सांसद थापाले बिहीबार भएको आत्मदाह प्रयासजस्तो गम्भीर घटनामा पनि सरकार मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। काठमाडौं महानगर र सरकारका नीतितर्फ संकेत गर्दै उनले रङ परिवर्तन गरेर मात्र नागरिकको सुरक्षा सुनिश्चित नहुने टिप्पणी गरिन्। सुकुमवासीहरू समेत नदीमा हाम फाल्न बाध्य हुने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

सांसद भूमिका लिम्बू सुब्बाले मोटरसाइकल पार्किङका कारण १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेपछि उत्पन्न मानसिक दबाबले गणेश नेपाली आत्मदाहको प्रयास गर्न पुगेको दाबी गरिन्। नागरिकलाई यस्तो अवस्थासम्म पुग्न बाध्य बनाउने परिस्थिति अत्यन्त दुःखद् भएको उल्लेख गर्दै उनले सरकारलाई जवाफदेही बन्न आग्रह गरिन्।

सांसद पार्वती विकले सर्वसाधारण नागरिक राज्यकै सामुन्ने जिउँदै जलेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु निन्दनीय भएको बताउँदै मृतकका आश्रित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्।

यसैगरी सांसद राधिका रम्तेलले घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिइन्।

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले काठमाडौंमा गरिब तथा श्रमजीवी नागरिकका लागि बाँच्नै कठिन हुने वातावरण सिर्जना भएको टिप्पणी गरे। राज्यका सुविधा पहुँचवालामै सीमित भएको आरोप लगाउँदै उनले नागरिकले उच्च कर तिरे पनि गुणस्तरीय सेवा नपाएको गुनासो गरे।

सांसदहरूले आर्थिक तथा प्रशासनिक दबाबका कारण सर्वसाधारण नागरिक आत्मघाती निर्णय लिन बाध्य हुने अवस्था अन्त्य गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।