Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुन्डुमा फेरि ओली हटाउने एजेन्डामा बैठक

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने एजेन्डामा गुन्डुमा बैठक जारी छ, र आजै कार्यदलको बैठक पनि बस्ने तयारी छ ।
पार्टी स्रोतका अनुसार ओलीले पुनर्गठनका धेरै एजेन्डामा सहमति जनाए पनि नेतृत्व नछाड्ने अडान दोहोर्याएका छन् ।
केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ सम्म राख्ने तयारी भए पनि नेतृत्वभित्र एकमत नबने बैठक सारिन सक्ने नेताहरूले बताएका छन् ।

१ असोज, काठमाडौं । एमालेको रोचक पक्ष– यसका अध्यक्ष केपी शर्मा ओली जुन घरमा बस्छन्, त्यही घरमा उनलाई पार्टीको नेतृत्वबाट हटाउने एजेन्डामा बैठक चल्नेगर्छ ।

र, त्यो बैठक आज बिहीबार पनि जारी छ । उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त ढकाल, विष्णु रिमाल लगायत त्यो बैठकमा सामेल छन् ।

ओलीसँग निकट रहेका उपाध्यक्ष थापाले यसअघि नै गुन्डुमा बैठक राख्न प्रस्ताव गर्दा केही नेताहरु मानेका थिएनन् । तर ओलीको स्वास्थ्य लगायत कारण देखाएर उनीहरु फेरि गुन्डु पुगेका छन्

पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी पुनर्गठनका लगभग सबैजसो एजेन्डामा सहमति जनाउने संकेत गरे पनि नेतृत्व नछाड्ने स्पष्ट गरेका छन् ।

यसअघि एमाले कार्यदलको प्रतिवेदनमा केही समस्या देखाउँदै त्यसलाई हल गर्न सम्पादन समिति निर्माण गरिए पनि नेताहरुबीच कुरा मिल्न सकेको थिएन

उपाध्यक्ष थापा उक्त कार्यदलका संयोजक छन् । ओलीसँग लामै निकटतामा रहेका महासचिव शंकर पोखरेलचाहिँ सदस्य सचिव । प्रतिवेदन लेख्ने जिम्मा पाएका पोखरेलले प्रतिवेदनका निष्कर्षलाई लिएर अडान नछाडेपछि कार्यदलमा एकमत बनेको थिएन । थापाले पोखरेलको प्रतिवेदन फिर्ता लिएर जानुपर्ने प्रस्ताव राखे पनि अरु नेताले समेत त्यसलाई मानेका थिएनन् ।

तर गुन्डुमा अध्यक्ष ओलीसँग केही चरण छलफलपछि अर्का उपाध्यक्ष विष्णु पौडेल उनलाई निरन्तर अध्यक्ष मानेर जानेमा नरम देखिएका छन् ।

पार्टीभित्र पुनर्गठनको धार बलियो बने पनि अध्यक्ष ओली त्यसलाई मान्न तयार छैनन् । यस्तो अवस्थामा असोज ५ देखि ७ सम्म केन्द्रीय कमिटी बैठकमा कसरी जाने भन्ने छलफल गुन्डुमा चलिरहेको छ ।

केन्द्रीय कमिटी बैठकभन्दा अघि कार्यदलको प्रतिवेदनबारे नेतृत्वभित्र एकमत बनाउने कोसिस जारी छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीभित्र बहुमत रहेको करिब पक्का गरे पनि केही आशंका देखिएकाले बैठक सार्न सकिने सम्भावना रहेको नेताहरुले अनलाइनखबरलाई बताएका छन् ।

अध्यक्षज्युका संकट नसकिँदासम्म केन्द्रीय कमिटी बैठक सुरु नहोला, एक पदाधिकारीले सुनाए, त्यस अर्थमा आजको बैठक महत्वपूर्ण छ ।

गुन्डुको बैठक सकिएपछि आजै बिहीबार उक्त कार्यदलको बैठक फेरि राख्ने तयारी छ ।

महासचिव पोखरेलले पार्टीको सचिवालय र कार्यदलले दिएको कार्यादेश बमोजिम आफूले प्रतिवेदन तयार पारेकाले फिर्ता नहुने अडान लिएका छन् । त्यसमा अध्यक्षले अब नेतृत्व छाड्नुपर्ने प्रस्ताव स्पष्ट लेखिएको छ । तर ओलीसँग निकट केही नेताले उनले अध्यक्ष छाड्नैपर्ने भए उनीसँगै नेतृत्वमा आएका पदाधिकारीसमेतले नैतिक जिम्मेवारी लिँदै छाड्नुपर्ने दबाब दिन थालेका छन्

बैठकमा केही नेताले ओलीमात्रै होइन, अरु नेताले समेत पद छाड्नुपर्ने अडान राख्नुभएको छ, अर्का नेताले भने, नत्र मनगढन्ते प्रतिवेदन लेखेर आफूलाई चोखो देखाउँदै अरुलाई पेल्न पाइँदैन ।

प्रतिवेदनमा थापाले खण्डन लिखित दर्ज गरेका छन् । पोखरेलसहितका नेताले उक्त खण्डन फिर्ता लिनुपर्ने नत्र खण्डनको पनि खण्डन टाँस गरेर बैठकमा लगिने चेतावनी दिएका छन् ।

यसअघि बल्थलीमा तीन दिन आवासीय बैठक बसेर प्रतिवेदनमाथिका विवाद तथा मतभेद टुंग्याउन खोजिएको थियो ।

ओली हटाउने पक्षमा महासचिव पोखरेलसहित उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिव खगराज अधिकारी, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की लगायत छन् ।

उपाध्यक्ष थापा, सचिव शेरधन राई र महेश बस्नेत ओलीको बचाउमा स्पष्ट उभिएका छन् । अब उनलाई विष्णु पौडेलले साथ दिने बुझिएको छ ।