Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमा कांग्रेसको नजर परेपछि प्रचण्डलाई तनाव

कठमाडौं । एमालेसँगको गठबन्धन तोडेर काँग्रेसको शरणमा पुगेको प्रधामन्त्री पुष्पकमल दाहाललाई भागवडा मिलाउन निकै ठूलो सकस हुने देखिन्छ । राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ। कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहन्छन्। वर्तमान गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका खड्काले रोजेको मन्त्रालय दिन सभापति शेरबहादुर देउवा पनि सकारात्मक छन्। तर गृहमन्त्रालय प्रधानमन्त्रीको दलले राख्ने कि कांग्रेसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री निर्णयमा पुग्न सकेका छैनन्। कांग्रेसभित्र गृहमन्त्रालयको दाबी पार्टी प्रवक्ता डा। प्रकाशशरण मतहले गरिरहेका छन्। महतले आफूलाई गृहमन्त्री बनाउन समापतिसँग लविङ गरिरहेका छन्। महतप्रति देउवा पनि नकारात्मक छैनन्।
कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेस(माओवादीभित्र गृहमन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भएको छ। दुवै दलले गृहमन्त्रालयमा दाबी गरेका छन्। अहिले गृहमन्त्रालय कसले लिने भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको छ, ती पदाधिकारीले डिसी नेपालसँग भने, गृहमन्त्रालय पार्टीले पाउने अवस्था आए उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत मध्ये एक जना गृहमन्त्री बन्नुहुन्छ। पूर्ण दाइले रुची देखाउनु भयो भने उहाँनै पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने संभावना छ। स्रोतका अनुसार कांग्रेस,माओवादीबीच गृह र अर्थमन्त्रालय दुई दलले लिने सहमति भइसकेको छ। तर कुन मन्त्रालय कुन दलले लिने भन्ने निर्णय हुन बाँकी छ। कांग्रेसले गृह पाए, माओवादीले अर्थ र कांग्रेसले अर्थ पाए माओवादीले गृह पाउने सहमति भएको छ। परराष्ट्र मन्त्रालय भने कांग्रेसले लिने सहमति भइसकेको स्रोतको दाबी छ। परराष्ट्र मन्त्री आरजू देउवालाई बनाउने तयारी भएको स्रोतले बतायो। सभापति शेरबहादुर देउवाले आरजूलाई बनाउन रुची नदेखाएको तर आरजूले आफूलाई बनाउन दबाव दिएको स्रोतको दाबी छ।
उता माओवादीभित्र गृहमन्त्रालय आफैंसँग राख्नु पर्ने मत बलियो छ। माओवादीले गृहमन्त्रालय पाए शक्ति बस्नेत गृहमन्त्री बन्ने संभावना रहेको माओवादी निकट स्रोतले जनाएको छ। यसअघि ०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नौ महिना गृहमन्त्रालयको नेतृत्व गरेका बस्नेतप्रति प्रचण्ड सकारात्मक रहेको बताइएको छ। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अहिले प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालय आफैंसँग राखेका छन्। राष्ट्रपति निर्वाचनको आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्रीले फागुन २६ लगत्तै मन्त्रिपरिषदलाई पूर्णता लिने विषयमा सहयात्री दलसँग छलफल थालेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।