Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोविन्द केसीको २५औँ सत्याग्रह सुरु, अघि सारे ६ बुँदे माग

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले २५औँ सत्याग्रह सुरु गरेका छन्। उनले इलामस्थित नारायण मन्दिरमा आज साँझ ५ बजेदेखि आमरण अनशन सुरु गरेका हुन्।

पूर्वाधार र आवश्यक प्राज्ञिक जनशक्तिबिना कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको र विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत विद्यार्थी सिट वृद्धि गरिएको भन्दै केसीले विरोध जनाएका छन्। चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियामा स्वार्थको द्वन्द्व देखिएको आरोप लगाउँदै उनले निष्पक्ष छानबिनको मागसमेत गरेका छन्।

सत्याग्रह सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा केसीले न्यूनतम पूर्वाधारबिना शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्नुपर्ने, गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका विवादित पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने र सरकारसँग यसअघि भएका सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्।

स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्सा शिक्षामा सुधारका लागि लामो समयदेखि अभियान चलाउँदै आएका केसीले सरकारले आफ्ना मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरेको भन्दै पुनः सत्याग्रह सुरु गर्नुपरेको बताएका छन्।

यस्ता छन् डा. केसीका ६ बुँदे माग

१. विवादित निर्णय खारेज गर्नुपर्ने

न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्नुपर्ने उनको माग छ। त्यस्तै, मापदण्डविपरीत विभिन्न मेडिकल कलेजमा विद्यार्थी सिट वृद्धि गर्ने निर्णयसमेत तत्काल फिर्ता लिनुपर्ने उनले बताएका छन्।

२. पदाधिकारीमाथि निष्पक्ष छानबिन र कारबाही

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ। छानबिनबाट दोषी ठहर हुने पदाधिकारीमाथि कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

३. गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने केसीको माग छ। आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने उनले बताएका छन्। विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधान परिमार्जन गर्नुपर्ने मागसमेत उनले अघि सारेका छन्।

४. छात्रवृत्ति र गुणस्तरको रक्षा

सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने उनको माग छ। निजी कलेजको व्यापारिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्ड पूरा नगरी विद्यार्थी सिट वृद्धि गर्ने प्रयास रोक्नुपर्ने उनले बताएका छन्।

५. सरकारसँग भएका सहमति कार्यान्वयन

२०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषयमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट र तोडफोडलगायतका घटनाको छानबिन तथा दोषीमाथि कारबाही गर्ने सहमतिसमेत कार्यान्वयन गर्नुपर्ने उनको माग छ।

६. सरकारी मेडिकल कलेज विस्तार

इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गर्नुपर्ने केसीको माग छ। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य अघि बढाउनुपर्ने मागसमेत उनले राखेका छन्।