Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमई बैंकको ह्याट्रिक, लगातार तेस्रो वर्ष बन्यो नेपालको उत्कृष्ट बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’को ‘बेस्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ । यससँगै बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ घोषित भएको छ ।

बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच, रणनीतिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलगायतका सूचकका आधारमा बैंकलाई उत्कृष्ट ठहर गरेको जनाएको छ ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकका प्रमुख बैंकहरू पनि सम्मानित भएका थिए । बैंक अफ चाइना, स्टेट बैंक अफ इन्डिया, आईसीबीसी, यूओबी मलेसिया, सिटी बैंक बंगलादेश र एमयूएफजी बैंक जापानलगायतका बैंकले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ । यसअघि बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । बैंकले ‘बेस्ट इम्प्लोयर’ सम्मानसमेत पाएको छ ।

अवार्ड प्राप्त गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति बैंकले आभार व्यक्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ ।