Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चक्रवात ‘अर्नब’को प्रभाव : पूर्वदेखि पश्चिमसम्म वर्षा, साँझ र राति थप बढ्ने

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। कोशीदेखि गण्डकी प्रदेशसम्म शुक्रबार बिहानैदेखि वर्षा भइरहेकोमा पछिल्लो समय यसको प्रभाव सुदूरपश्चिमसम्म विस्तार भएको छ। गण्डकीदेखि पश्चिमका क्षेत्रमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

कोशीदेखि गण्डकी प्रदेशसम्म बिहीबारदेखि नै आकाशमा बाक्लो बादल लागेको थियो। गएरातिदेखि अधिकांश स्थानमा सिमसिमे वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि रातिदेखि पानी पर्ने र रोकिने क्रम जारी छ भने बिहानदेखि झरी परिरहेको छ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा भारी वर्षासमेत मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार धनकुटाको लेगुवाघाटमा ५२.८ मिलिमिटर र खोटाङको कुर्लेघाटमा ४८.२ मिलिमिटर वर्षा भएको छ। कोशी प्रदेशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा २० देखि ५० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै भारततर्फ न्यूनचापीय प्रणालीका रूपमा अघि बढेको छ। यसको प्रभाव र पश्चिमी वायुका कारण नेपालमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् रोजन लामिछानेका अनुसार भारतको उत्तर प्रदेश आसपास न्यूनचापीय क्षेत्र रहेको छ। उक्त प्रणाली नेपालतर्फ नजिकिँदै गर्दा वर्षा भइरहेको उनले बताए।

“यसको प्रभावले नेपालमा पानी परिरहेको छ। प्रणाली नेपाल आसपास अझै नजिक आउने क्रममा छ,” लामिछानेले भने।

उनका अनुसार प्रणालीको प्रभाव साँझ र रातितिर थप बढ्न सक्नेछ। यद्यपि देशभर व्यापक भारी वर्षा हुने सम्भावना नरहेको र अधिकांश स्थानमा झरी पर्ने अनुमान गरिएको छ। एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने उनले बताए। विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा बढी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार रातिसमेत देशका अधिकांश स्थानमा बादल लाग्नेछ।

यसैबीच, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले चक्रवात ‘अर्नब’ नेपालबाट अझै टाढा रहेको बताएका छन्। उनका अनुसार उक्त प्रणाली साँझतिर नेपाल नजिक आइपुग्न सक्ने र त्यसको प्रभावले केही क्षेत्रमा पाँचदेखि १० घण्टासम्म भारी वर्षा हुन सक्छ।

“करिब पाँचदेखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने देखिन्छ। वर्षाको समय, स्थान र मात्रा फेरिन सक्छन्। विशेषगरी साँझ र राति सतर्क रहँदै आधिकारिक सूचना र अपडेट हेर्नुहोला,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

मौसमविद्हरूले वर्षाको समय र स्थान परिवर्तन हुन सक्ने भएकाले विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्।