Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गुण्डा नाइकेको रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन्। प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो। गुण्डागर्दीमा तथा आपराधिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए। प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय भएर गुण्डा नाइकेहरूलाई पक्राउ गरेका हुन्।
प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो। नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चक्रे मिलनलाई ‘बर्थडे’ पार्टीबाटै पक्राउ गरिएको एसपी आचार्यले बताए। पक्राउपछि उनीहरुलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ। महाशाखा र परिसरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको नाम, ठेगाना रुजुगर्ने क्रम जारी छ, आचार्यले भने, पक्राउ परेका कतिपय प्रहरीले खोजी गरिरहेकाहरू छन्। त्यसमा कतिपय सर्वसाधारण पनि होलान्। हामी थप बुझिरहेका छौँ। सर्वसाधारणलाई आज छाड्छौँ। दोषीहरूमाथि कानुनी कारबाही अघि बढ्छ। चक्रे मिलनसहितले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने ढंगका पोस्ट गरेको पाइएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। यस विषयमा प्रहरीको उपत्यका अपराध कार्यालयका एआईजी टेकबहादुर तामाङले चासो दिएका थिए। उनले गुण्डा नाइकेहरूलाई नियन्त्रण गर्न निर्देशन दिएपछि मातहतका कार्यालयले निगरानी अघि बढाएका थिए। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। उनीहरू रेष्टुरेन्ट र क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल