Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपालका चिया उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा नेपाली चिया उद्योगले भोगिरहेका समस्या, निर्यातमा देखिएका अवरोध र समाधानका उपायबारे विस्तृत संवाद हुनेछ।
यसअघि प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ तथा हस्तकला महासंघका प्रतिनिधिहरूसँग पनि क्रमिक रूपमा भेटवार्ता गरिसकेका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजको छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।
यद्यपि, अघिल्ला भेटघाटझैँ आजको छलफलमा पनि अर्थमन्त्री तथा अन्य सम्बन्धित मन्त्रीहरू सहभागी नहुने जनाइएको छ।
छलफलमा विशेषगरी नेपाली चियाको निर्यातमा देखिएका चुनौतीहरू प्रमुख एजेन्डा हुनेछन्। नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया र बजार व्यवस्थामा हुने परिवर्तनले नेपाली चिया उद्योग प्रत्यक्ष प्रभावित हुँदै आएको छ।
हालै भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण करिब दुई महिनासम्म नेपाली चियाको निर्यात अवरुद्ध भएको थियो। यसको असर इलाम र झापाका दर्जनौँ चिया उद्योगमा परेको थियो भने उद्योगसँग आबद्ध हजारौँ कामदारसमेत प्रभावित भएका थिए।
प्रधानमन्त्रीसँगको आजको छलफलबाट चिया उद्योगको दीर्घकालीन समस्या समाधान, निर्यात सहज बनाउने उपाय तथा उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिबारे ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
२०८३ श्रावण ७
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल