Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको आस्वासन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिरहेको जानकारी दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’
विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महसुस भएको भन्दै विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको प्रधानमन्त्रीको कथन थियो । ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दै छु । हामीले एक अर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ’ प्रधानमन्त्रीको भनाइ छ ।
उनले अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको पनि जनाए । ‘भूकम्प, कोभिड, रुस र युक्रेनको युद्ध लगायतका कारण छन् । आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ’, प्रधानमन्त्रीको भनाइ छ । उनले अनुगमनलाई कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भएकाले त्यतातर्फ सरकारले जोड दिइरहेको भन्दै घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने जानकारी दिएका छन् ।
‘बैङ्क ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदै, हुल हुज्जतमा सरकार कठोर हुन्छ’, प्रधानमन्त्रीको भनाइ छ । छलफलमा विभिन्न बैङ्कका कार्यकारी अधिकृत लगायत बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैङ्क र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने जनाएका थिए ।
बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, गृह सचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तोयम राय लगायतका पदाधिकारीहरू सहभागी थिए ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल