Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोरीको कोर्ट म्यारिजपछि रास्वपा जिल्ला सभापति प्रहरी प्रमुखमाथि खनिए

जनकपुरधाम । छोरीले आफ्नो इच्छाअनुसार कोर्ट म्यारिज गरेपछि असन्तुष्ट बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै गालीगलौज गरेका छन् ।

आइतबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यादवले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्कालाई ‘घुसखोर’ र ‘दलाल’ जस्ता शब्द प्रयोग गर्दै आरोप लगाएका हुन् । कार्यक्रममा धनुषा क्षेत्र नम्बर २ का सांसद रामविनोद यादव, क्षेत्र नम्बर ३ का सांसद मनिष झा तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति थियो ।

कार्यक्रमको भिडियोमा यादवले प्रहरी प्रमुखमाथि आरोप लगाइरहँदा उपस्थित नेता–कार्यकर्ताले ताली बजाएको र सांसद झा हाँसेको देखिन्छ ।

नेपाल प्रेससँग कुरा गर्दै यादवले आफूले प्रत्यक्ष रूपमा नदेखे पनि सामान्य झगडाका घटनामा आर्थिक लेनदेन गरेर प्रहरीले मुद्दा दर्ता गर्ने गरेको आरोप लगाए । यस्ता घटनाबारे दर्जनौँ व्यक्तिले आफूलाई जानकारी गराएको उनको दाबी छ ।

‘घरायसी झगडामा समेत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको भनेर मलाई कार्यकर्ताहरूले गुनासो गरिरहेका छन्,’ उनले भने ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफू र प्रहरी कार्यालयको नाम जोडेर लगाइएका आरोपप्रति आपत्ति जनाएका छन् । उनले ती आरोप आपत्तिजनक, भ्रामक र तथ्यहीन रहेको बताएका छन् ।

के हो विवाहको विवाद ?

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते खोजतलासका लागि निवेदन दिएका थिए । तर, प्रहरीले अनुसन्धान गर्दा ती महिला हराएको नभई अदालतबाट विवाहको नाता कायम गराएर आफ्नो पतिसँग गएको खुलेको थियो ।

प्रहरीको विज्ञप्तिअनुसार काठमाडौँ जिल्ला अदालतबाट असोज ८ गते नै विवाहको नाता कायम गराइएको थियो । ती महिला असोज १४ गते आफ्ना पतिसँग गएको पनि खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै पक्षबीच प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाण देखाएर यादवलाई वास्तविक अवस्थाबारे जानकारी गराएको जनाएको छ । तर, आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै यादवले सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन दबाब दिएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार विवाह गर्ने महिला २७ वर्षकी र पुरुष २३ वर्षका छन् । जात नमिलेको र केटाको आर्थिक अवस्था कमजोर रहेको कारण यादवले विवाह स्वीकार नगरेको बुझिएको प्रहरीले जनाएको छ ।

यादवले हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको र त्यसपछि सार्वजनिक कार्यक्रममा प्रहरी प्रमुखमाथि आरोप लगाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

एसपी खड्काले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै अपुष्ट सामग्री सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गरेका छन् । घटनाका सम्बन्धमा प्रचलित कानुनबमोजिम अघि बढ्ने उनको भनाइ छ ।

यस घटनामा रास्वपाका केही कार्यकर्ताले प्रहरीलाई गैरकानुनी काम गर्न दबाब दिँदै आएको र प्रहरीले अस्वीकार गरेपछि उनीहरू असन्तुष्ट बनेको स्रोतको दाबी छ । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

प्रहरीको भनाइअनुसार अदालतबाट विवाहको नाता कायम भइसकेको अवस्थामा परिवारको असन्तुष्टिका आधारमा मात्रै वैवाहिक सम्बन्ध छुटाउन वा सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न मिल्दैन । घटनाले व्यक्तिगत तथा पारिवारिक असन्तुष्टिका विषयमा प्रहरीमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भएको हो कि भन्ने प्रश्नसमेत उठाएको छ ।


सम्बन्धित समाचार