Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्।

“प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ”, पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ।”

उद्घाटनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन। प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी रहेकाले सोही भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने लक्ष्य राखिएको छ।

रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीबारे दुवै देशका अधिकारीबीच छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए। उनका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।

केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारी सम्मिलित टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए।

विशेष रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै दुवै देशका सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट होटल, यातायात, व्यापार तथा स्थानीय सेवा व्यवसायले लाभ लिन सक्नेछन्।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। प्रस्तावित विशेष सेवाले यस रेल सञ्जाललाई भारतको प्रमुख धार्मिक गन्तव्य अयोध्यासँग जोड्नेछ।