Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनयुद्ध दिवसमा प्रधानमन्त्री नै अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा नेकपाले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता सहभागी हुने भनिएको थियो । तर, प्रधानमन्त्री ओली भने धुम्बाराही गएनन् । ओलीको निजी सचिवालयका एक सदस्यले स्वास्थ्य समस्याका कारण ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिएका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले गत वर्ष पनि जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, ओली गत वर्षको कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।


सम्बन्धित समाचार