Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
टर्किए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु तथा मौसमसम्बन्धी तथ्यांक र त्यसका आधारमा गरिने निर्णयबीचको अन्तर घटाउनुपर्नेमा जोड दिएका छन् ।
टर्किएको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
युएनएफसीसीसी प्याभिलियनमा आयोजित ‘सिस्टेम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले जलवायुजन्य विपद्को पूर्वानुमान र जोखिम व्यवस्थापनका लागि परम्परागत मापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
सम्बोधनका क्रममा उनले नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्किएर लेदोसहितको बाढी आएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । उक्त घटनाले परम्परागत वर्षा मापन यन्त्र र पूर्वसूचना प्रणालीको सीमितता उजागर गरेको उनको भनाइ थियो ।
‘एक जना अर्थमन्त्री यो मञ्चमा किन छ ? यस वर्ष अगस्ट २६ को बिहान नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्कियो र लेदोसहितको बाढी आयो । त्यस बिहान नेपालसँग भएका हरेक उपकरणले वर्षा र नदीको सतह मापन गरिरहेका थिए । हाम्रो ऋण सुविधाको ट्रिगर, बीमाका ट्रिगर र पूर्वसूचना प्रणालीका मापन यन्त्रले पानी परिरहेको देखाएनन् । किनकि त्यहाँ पानी परेको थिएन,’ उनले भने ।
नेपाल तथ्यांकविहीन देश नभई उपलब्ध तथ्यांक र निर्णय प्रक्रियाबीच ठूलो अन्तर रहेको अर्थमन्त्री वाग्लेले स्पष्ट पारे । उनका अनुसार जलवायु जोखिम व्यवस्थापनमा वैज्ञानिक अवलोकन नै वित्तीय सुरक्षाका उपकरणहरूको आधार हो ।
तथ्यांक नभए जोखिम पहिचान गर्ने ट्रिगर नहुने, ट्रिगर नभए प्यारामेट्रिक बीमा प्रभावकारी नहुने र बीमा नहुँदा पूर्वव्यवस्थित वित्तीय सहयोगको सट्टा महँगो ऋणमा निर्भर हुनुपर्ने अवस्था आउने उनले बताए ।
यस्तो जोखिमका लागि नेपाल पहिले नै प्रयोगशालाजस्तै बनिसकेको उल्लेख गर्दै उनले अब नेपालले वैज्ञानिक अनुसन्धान र अवलोकनमा पनि अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।
उनले जलवायु परिवर्तनको असर बढ्दै जाँदा त्यसको सामना गर्ने क्षमता सबैभन्दा कम भएका मुलुकहरू नै बढी जोखिममा परेको बताए । तातो हुँदै गएको विश्वमा सबैभन्दा कमजोर देशहरू अन्धकारमा रहेको उनको टिप्पणी थियो ।
जलवायु तथा मौसमसम्बन्धी आधारभूत तथ्यांक संकलन प्रणालीमा लगानी बढाउन र अन्तर्राष्ट्रिय सहकार्यबाट आवश्यक पूर्वाधार निर्माण गर्न उनले विश्व समुदायलाई आग्रह गरे ।
‘यस मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र होइन, पहाडलाई पनि पढ्न सक्ने ट्रिगर हुनुपर्छ,’ उनले भने ।
नेपालले सन् २०२६ मा भोगेका जलवायुजन्य विपद्बाट प्राप्त पाठलाई विश्वव्यापी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले कुनै पनि देशले यस्तै विपद्को सामना गर्दा फेरि उही पाठ सिक्नुपर्ने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरे ।
२०८३ कार्तिक २७
ताजा नेपाल
२०८३ कार्तिक २७
ताजा नेपाल
२०८३ कार्तिक २७
ताजा नेपाल