Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टोपबहादुर, बालकृष्ण, टेकनारायण, इन्द्रजित र टेकनाथलाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको लहरोले ठूलै गर्जन ल्याउने अपेक्षा गरिए पनि खासै ठूला माछा पर्ने सम्भावना टरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ । आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना प्रहरी नियन्त्रणमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर शनिबार तयार गरिएको प्रतिवेदन काठमाडौं प्रहरीले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा जाहेरी दिएका थिए । गिरोहले १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको अनुमान छ । अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पूर्व र बहालवाला आरोपितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार र अन्यका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत थप अनुसन्धानका लागि लेखी पठाउनुपर्ने राय छ । प्रहरी अधिकारीका अनुसार पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईमाथि राज्यविरुद्धको अपराधमा कारबाही गर्न सिफारिस गरिएको छ । भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता टेकनाथ रिजाललाई ठगी र संगठितबाहेक राज्यविरुद्धको कसुरमै मुद्दा चलाउन सिफारिस गरिएको छ । रिजालले शरण लिएर बसेको देशविरुद्ध अपराध गरेको प्रतिवेदनमा उल्लेख छ ।शरणार्थी प्रकरणको मुख्य योजनाकारका रूपमा केशव दुलाल र सानु भण्डारीलाई राखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूकै योजनामा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजना बुनिएको देखिन्छ । योजना सफल पार्न गिरोहका नाइकेहरूले भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता रिजाललाई हात लिएका थिए । रिजालकै सहयोगमा भुटानका विभिन्न बस्तीका नाम उल्लेख गरेर बनाइएको शरणार्थी परिचयपत्र वितरण गर्दै सर्वसाधारणबाट रकम असुल गरिएको पाइएको छ ।


सम्बन्धित समाचार