Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पको दाबी– अमेरिका–इरान युद्ध अन्त्य गर्ने सम्झौता आजै हुन सक्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता आइतबार नै हुन सक्ने दाबी गरेका छन्। उनले सम्झौतापछि विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्भावित सम्झौताले इरानलाई आणविक हतियार विकास नगर्ने प्रतिबद्धतामा बाँध्ने दाबी गरेका छन्। साथै, हर्मुज जलडमरूमध्य खुला भएपछि अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा सहजता आउने उनको भनाइ छ।

युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तान ले पनि २४ घण्टाभित्र प्रारम्भिक सम्झौता हुन सक्ने संकेत दिएको छ। पाकिस्तानी पक्षका अनुसार सम्झौताको ‘इलेक्ट्रोनिक हस्ताक्षर’ सम्बन्धी तयारी भइरहेको छ।

तर इरानले भने ट्रम्पले तोकेको समयसीमाप्रति सावधानी अपनाउन आग्रह गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई ले कुनै निश्चित मितिमा हस्ताक्षर हुने सहमति नभएको र सम्झौता केही दिनभित्र हुन सक्ने बताएका छन्।

सम्भावित सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन, युद्धविरामलाई निरन्तरता, प्रतिबन्धसम्बन्धी विषय तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ताको ढाँचा समावेश हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि, दुवै पक्षबाट अन्तिम सम्झौता भएको औपचारिक पुष्टि भने अझै सार्वजनिक भएको छैन, जसका कारण हस्ताक्षरको समय र अन्तिम स्वरूपबारे अनिश्चितता कायम रहेको छ।