Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिककै आँखा छल्ने बानी परेकालाई डमीले के रोक्ला ?

काठमाडौं । ट्राफिक प्रहरीका लागि सडक नियम पालना गर्ने बानी परेका हामी नेपालीलाई डमी ट्राफिक राखेर के होला उपलब्धी ? सोझै सिठी फुकेर रोक्दा रोक्दै रातो बत्तीमा कुदिहाल्ने प्रवृत्ति कायमै रहेको बेला उपत्यकाका २२ ठाउँम डमी ट्राफिक उभ्याइएको छ । महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै जाने सिलसिलामा यो अभियान थालेको हो । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न सडक छेउमा २२ वटा ट्राफिक प्रहरीजस्तै देखिने डमी बनाएर राखेको छ। डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए। नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए। उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने बताए। उक्त ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ। ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माइतिघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन्। त्यस्तै, महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ। सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिँडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू उक्त बोर्डमा लेखिएका छन्।