Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी गर्ने दुई नेपाली अस्ट्रेलियामा जेल चलान

काठमाडौं । अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा उनीहरुलाई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो । प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो । अस्ट्रेलियाको समाचार वेबसाइट नाइनन्यूजका अनुसार यी दुईलाई बेइमानी र धोखाधडीबाट सम्पत्ति आर्जन गरेको ५ वटा आरोप र जानीजानी आपराधिक क्रियाकलापमा संलग्न भएको ३ वटा आरोप लागेको छ । उनीहरुले ८५ वर्षकी एक महिलालाई झुक्याएर हजारौं डलर ठगी गरेको आरोप छ । समाचारमा जनाइए अनुसार पीडित ८५ वर्षकी महिलालाई एउटा फोन कल आएको थियो । फोन गर्नेले आफू उनको बैंकबाट बोलेको भन्दै उनको बैंक खाता रोक्का भएकोले उनले अर्को खाता खोल्नुपर्ने बताएका थिए । फोन गर्नेले महिलालाई एक कुरियरलाई ३ हजार डलर दिन भनेका थिए । कुरियरका कर्मचारी महिलाको घरमै आउने र त्यो रकम उनको खातामा जम्मा गरिने बताइएको थियो ।
महिलाले कुरियल वालालाई ३ हजार डलर दिइन् र यसबारे पुलिसलाई पनि जानकारी दिइन् । पछि महिलालाई फेरि अर्को फोन कल आयो । फोन गर्नेले उनलाई अझै ५ हजार डलर दिनुपर्ने बताए । पुलिसले नेपाली जोडीलाई सोमबार ती महिलाको घरमा पैसा लिन आएको बेला पक्राउ गरेको जनाइएको छ । अनुसन्धानमा भारतमा आधारित रहेर अस्ट्रेलियामा सक्रिय सदस्यहरुबाट ठगी धन्दा चलाइरहेको गिरोहबारे खुलासा भएको छ । यो गिरोहले अस्ट्रेलियामा यस्तै गरी झुक्याएर पैसा ठग्ने र विद्युतीय माध्यमबाट विदेश पठाउने गरिरहेका थिए । अनुसन्धानकर्ताहरुले यस्तै किसिमका फोन कल आएका अन्य पीडितहरुको पनि पहिचान गरेका छन् । गिरी र भट्टराईलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । अदालतले उनीहरुलाई जेल पठाएको छ । अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।