Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा केसीप्रति ढाकाको तुच्छ अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ढका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियोमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीप्रति आपराधिक अभिव्यक्ति दिएका छन्। सांसद श्रेष्ठले प्रसाईंसँग कुराकानी गर्ने क्रममा डा केसीप्रति ठाडो भाषामा उनको मृत्यु होस् भन्ने आपराधिक अभिव्यक्ति दिएको अडियोमा सुन्न सकिन्छ। श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेपछि प्रसाईंले आफू सहयोग गर्न तयार रहेको र भोलिका दिनमा आफूलाई सहयोग गर्न श्रेष्ठसँग आग्रह गरेका छन्। उक्त कुरापछि सांसद श्रेष्ठले डा केसीप्रति आपराधिक अभिव्यक्ति दिएका हुन्। मलाई त यो दिक्क लाग्छ के गोविन्द केसी देखेर नि। कहिले मर्छजस्तो लाग्छ, श्रेष्ठले भनेका छन्। डा केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारमा लड्दै आइरहेका छन्। डा केसीको पटक पटकको अनसनका कारण चिकित्सा शिक्षामा रहेका धेरै विकृतिहरु सुधार भएका छन्।
तर चिकित्सक समेत रहेका सांसद श्रेष्ठले डा केसीको मृत्यु चाहेको अडियोमा प्रष्ट सुन्न सकिन्छ। स्वतन्त्र पार्टीमा डा केसीको समर्थनमा आवाज उठाउँदै आएकी डा तोसिमा कार्की पनि सांसद छिन्। प्रसाईंले डा कार्कीको पनि नाम लिएका छन्। प्रसाईंले पैसा दिने आश्वासन दिँदै फेरि तोसिमाले लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले ? भनेर श्रेष्ठलाई प्रश्न गरेका छन्। त्यसपछि ढाका कुमारले, गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो, भनेर जवाफ दिएका छन्। ढाका कुमारले तोसिमा मन्त्री भइन भनेपनि काम पनि छैन नी समेत भनेर प्रसाईंसँग बोलेको कुरा उक्त अडियोमा सुन्न सकिन्छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीलाई यसअघि एमाले नेता खगराज अधिकारीले पनि मर्न दिनुपर्छ भनेका थिए। २०७४ पुस १५ गते पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले पूर्वमन्त्री अधिकारीले सरकारी तलब खाएर सरकारी अस्पतालमा अनसन बस्ने कार्यलाई गैरव्यावसायिक कार्य भएको भन्दै त्यस्ता व्यक्तिलाई अरु डाक्टरले बचाइरहनु आवश्यक नरहेको बताएका थिए। राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री अधिकारीले डा केसीका विषयमा यस्तो भनेका थिए, अनसन बसेर कसैले इच्छा मृत्युको माग गर्छ भने उसलाई मर्न दिनुपर्छ। एकातिर तीन करोड नेपालीको स्वास्थ्यको कुरा गर्ने अनि अर्कोतिर अस्पतालमा अनसन बसेर मर्न चाहनेलाई कसैले बचाउनु हुँदैन।