Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न तोसिमा कार्कीको सरकारलाई आग्रह

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। उनले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको बताउँदै सरकारलाई विगतका सरकारको शैली नदोहोर्‍याउन चेतावनी दिएकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले डा. केसीलाई अनशन बस्नुपर्ने अवस्था नै आउन नदिनुपर्ने उल्लेख गर्दै सरकारले तत्काल संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताइन्। उनले सरकारलाई सम्बोधन गर्दै लेखेकी छन्, “यो सरकार जनताको सरकार हो। तपाईं जस्तो निष्ठावान् सत्याग्रहीले आमरण अनशन बस्नुपर्ने अवस्था आउनु हुँदैन। तपाईं सिधै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ। चिकित्सा शिक्षा सुधारका तपाईंका जायज मागहरूमा सरकार सहकार्य गर्न तयार छ।”

कार्कीले अघिल्ला सरकारहरूले गरेका सम्झौतासमेत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन चर्किएपछि मात्र समस्या समाधान गर्ने पुरानो प्रवृत्ति दोहोरिन नहुनेमा जोड दिइन्। “शरीर गलेपछि, आन्दोलन चर्किएपछि र जनदबाब बढेपछि मात्र सम्बोधन गर्ने अवस्था कुर्नु हुँदैन,” उनले उल्लेख गरेकी छन्।

उनले डा. केसीले गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयको विरोध नगरेको स्पष्ट पार्दै यसबारे फैलाइएको भ्रमप्रति पनि आपत्ति जनाइन्। डा. केसी स्वयंले गेटामा ३०० शय्याको अस्पताल तत्काल सञ्चालन हुनुपर्ने र एमबीबीएस अध्ययन छिटो सुरु गरिनुपर्ने पक्षमा रहेको पटकपटक स्पष्ट पारिसकेको कार्कीको भनाइ छ।

कार्कीले सुदूरपश्चिममा विशिष्ट सेवासहितको अस्पताल र चिकित्सा शिक्षा विस्तारका लागि डा. केसीले विगतदेखि निरन्तर संघर्ष गरेको स्मरण गराउँदै गेटामा बनेका संरचनाले अझै पूर्ण क्षमतामा सेवा दिन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरिन्। ६०० शय्याको संरचना बने पनि हालसम्म ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति समेत नपाएको उल्लेख गर्दै उनले अब ढिलाइ नगरी अस्पताल र विश्वविद्यालय दुवैलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखिन्।

उनले चिकित्सा शिक्षा सुधार र जनस्वास्थ्यको पक्षमा डा. केसीले पुर्‍याएको योगदानको सम्मान गर्नुपर्ने उल्लेख गर्दै भ्रम फैलाएर उनको आन्दोलनलाई कमजोर पार्ने प्रयास नगर्न सबैलाई आग्रह गरेकी छन्। साथै, चिकित्सा शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य सेवा विस्तार र गेटा विश्वविद्यालयलाई सुदृढ बनाउने अभियानमा आफू निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।