Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेंगी महामारी बन्दै, खै सतर्कता ?

काठमाडौँ । बेलैमा सचेत नहुँदा डेंगी महामारी भूसको आगो झैं फैलिएको छ । मुलुकका ६९ जिल्लामा डेंगी फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार हालसम्म कुल ४ हजार २८९ जना डेंगीबाट संक्रमित भइसकेका छन् । जनवरी १ देखि संकलित यो तथ्यांक सोमबारसम्मको हो । त्यसैगरी ईडीसीडीले डेंगीबाट हाल ३ जनाको मृत्यु भएको आधिकारिकरुपमा पुष्टि गरेको छ । मृतक तीनजानै सुनसरी जिल्लाका हुन् । संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएका छन् । त्यहाँ २ हजार ७५४ जना डेंगीबाट संक्रमित पाइएका छन् । त्यसैगरी बाग्मती प्रदेशमा ६६७, गण्डकी प्रदेशमा ३४४ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ र कर्णाली प्रदेशमा २० जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै संक्रमित हुने जिल्लामा सुनसरी रहेको छ । त्यहाँ २ हजार ५४२ जना संक्रमित भइसकेको अवस्था छ । पछिल्लो डेढ महिनायता धरानमा डेंगी संक्रमण बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि सञ्चालनमा ल्याइएको हो । त्यसैगरी डेंगी संक्रमित उच्च भएका जिल्लाहरु धादिङमा ४०१, कास्कीमा २०५, दार्चुलामा १९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ डेंगीका केश पुष्टि भएका हुन् । यी शीर्ष १० जिल्लामै ३ हजार ६७१ केश भेटिएका छन् । जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय ९पिक सिजन० मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । गत वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो । संक्रमितमा ५३ प्रतिशत पुरुष थिए भने ४७ प्रतिशत महिला थिए । अघिल्लो वर्ष सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७७ प्रतिशत संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये पनि ५६ प्रतिशत केस काठमाडौं उपत्यकामा भेटिएको थियो । सन् २०२२ मा प्रकोप देखिनुअघि सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगीको प्रकोपले १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।ईडीसीडीका अनुसार यही असार २७ गते १ हजार ३ सय ३७ संक्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर २ हजार ९ सय ३० पुगेको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले अघिल्लो वर्ष काठमाडौँमा देखिएको कडा खालको डेंगी सुनसरीमा देखिएको बताउँछन् । उनी काठमाडौँमा अघिल्लो वर्षको जस्तो अवस्था नआए पनि पकेट एरियामा आउटब्रेक हुन सक्ने सम्भावना रहेको बताउँछन् । ईडीसीडी निर्देशक डा रुद्र मरासिनी केही दिनअघि धरानमा गएर बीपी प्रतिष्ठानका डेंगी उपचार टिम, मेयर, उपमेयरलाई भेट गरेको बताउँदै फगिंग (मेसिनबाट धुवाँ फाल्ने तरिका) भन्दा खोज र नष्ट अभियानमा बढी सरिक हुन अनुरोध गरिएको बताउँछन् ।