Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ताजा नेपालका सम्पादक वाग्ले पुरस्कृत

काठमाडौँ । यस ताजा नेपाल डट कमका सम्पादक ईश्वरी प्रसाद वाग्ले सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गर्दा ताजानेपालका सम्पादक वाग्लेलाई पनि सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि रहिसकेका १४ जना दिवंगत पत्रकारको सम्मानमा काठमाडौं शाखाले पत्रकारिता पुरस्कार स्थापना गरेको थियो । शाखाको २२ औं साधारणसभाको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनही २० हजार राशी र सम्मानपत्रसहित अग्रज पत्रकारहरुलाई पुरस्कार प्रदान गरे । रामचन्द्र हुमागाई स्मृति पुरस्कार ईश्वरीप्रसाद वाग्ले, बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार इन्द्र रिजाल, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार राजेन्द्र स्थापित, अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापा, जसुदा प्रधान स्मृति पुरस्कार देवेन्द्र चुडाल, शोभा शाह स्मृति पुरस्कार निर्मला शर्मा, डम्बर गिरी स्मृति पुरस्कार विश्वराज किराँत, मुरारी गौतम स्मृति पुरस्कार निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पुरस्कार ज्ञान उदास, गोविन्द शर्मा स्मृति पुरस्कार मानध्वज लामा, एमडी कुलुङ स्मृति पुरस्कार टिवी बिरही, तारा न्यौपाने स्मृति पुरस्कार गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पुरस्कार दामोदरप्रसाद दवाडीलाई प्रदान गरिएको छ ।
अन्य १३ जना पत्रकारको विभिन्न समयमा उपचारका क्रममा निधन भएको थियो । यसअघि अनी शिखा र तारा न्यौपानेका नाममा संयुक्त रुपमा दिइदै आएको पुरस्कार यसपटक छुट्टाछुट्टै व्यक्तिलाई प्रदान गरिएको शाखाका अध्यक्ष शान्तराम बिडारीले बताए । कार्यक्रममा सञ्चारमन्त्री गुरुङले पत्रकारले सत्यतथ्य र विश्वसनीय समाचार जनतासमक्ष ल्याउनु पर्ने बताए । पत्रकारिताको हकहितका लागि काम गर्न आफू प्रतिवद्ध रहेको पनि बताएका थिए ।
यसैबीच बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका अग्रज पत्रकार ईन्द्र रिजालले आफूले पाएको २० हजार राशी पुरस्कारमा थप १ हजार १ सय ११ रुपैयाँ थप गरी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अक्षय कोषमा जम्मा गरेका छन् । त्यसैगरी शम्भु श्रेष्ठले मृगौला पीडित बिके पाल्पाकी पत्नी रेणुका दाहालले चेक हस्तान्तरण गर्नुभयो भने दामोदर दवाडीले आफूले पाएको पुरस्कार स्व. फणिन्द्र दाहालकी पत्नीलाई बुझाउने घोषणा गर्नुभएको छ ।
सम्पादक वाग्ले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सभपाति हुँदा १ लाख १ हजार १ सय १ रुपैयाँको अक्षयकोष खडा गरेपछि काठमाडौं शाखाले श्रमजीवी पत्रकारहरुलाई हरेक वर्ष सम्मान गर्न शुरु गरेको हो ।