Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन सयभन्दा बढी नेपालीले युक्रेन छाडे

काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीमा समेत संसय थपिएको छ । स्वास्थ्य समितिका संयोजक डा। बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्धपीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।