Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत २५ वर्षीय लामाको सोमबार साँझ सवा ७ बजे मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए। प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले पनि चालकको मृत्यु भएको पुष्टि गरेका छन्।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि चालक लामाले आफैँ बसमा आगो लगाएका थिए। यात्रु नभएको अवस्थामा भएको आगलागीमा परी काभ्रेको पनौतीका लामाका शरीरमा गम्भीर चोट लागेको थियो।
बस आगजनीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सात सदस्यीय छानबिन समिति गठन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठित समितिमा प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, यातायात व्यवसायी र मजदुर प्रतिनिधि सदस्य छन्।
समितिका सदस्यहरूमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, ट्राफिक प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका प्रमुख अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुरका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका लव केसी रहेका छन्।
समितिले घटनाको वास्तविकता, आगजनीको कारण तथा सम्बन्धित विषयमा छानबिन गर्नेछ।
२०८३ आश्विन ६
ताजा नेपाल
२०८३ आश्विन ६
ताजा नेपाल
२०८३ आश्विन ६
ताजा नेपाल