Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबलर जेडन एडम्सको २५ वर्षमै निधन

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन।

दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपियू)ले शनिबार विज्ञप्ति जारी गर्दै मामेलोडी सनडाउन्स तथा राष्ट्रिय टोली ‘बाफाना बाफाना’का मिडफिल्डर एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

संघले विज्ञप्तिमा एडम्सले हालै सम्पन्न फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै साहस, समर्पण र गौरवका साथ खेलेको उल्लेख गर्दै उनको निधन परिवार, टोली, क्लब तथा समग्र दक्षिण अफ्रिकी फुटबलका लागि अपूरणीय क्षति भएको जनाएको छ।

संघले एडम्सका परिवार, मामेलोडी सनडाउन्स, स्टेलेनबोस एफसी, राष्ट्रिय टोली ‘बाफाना बाफाना’ तथा उनीसँग आबद्ध सबैप्रति समवेदना व्यक्त गरेको छ।

एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका तीन खेल खेलेका थिए। तीमध्ये चेक गणतन्त्रविरुद्धको १–१ को बराबरी र मेक्सिकोसँगको २–० को हारमा उनी सुरुआती टोलीमा थिए भने दक्षिण कोरियाविरुद्ध १–० को जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। प्रतियोगिताको अन्तिम खेलमा क्यानडासँग पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिँदा भने उनी बेन्चमै सीमित रहे।

चेक गणतन्त्रसँगको खेलअघि एक दिन मात्र उनकी हजुरआमा मरियाना एडम्सको निधन भएको थियो। व्यक्तिगत शोकका बाबजुद पनि उनले राष्ट्रिय टोलीका लागि मैदानमा उत्रिएर खेल खेलेका थिए।

दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले एडम्सको निधनप्रति दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा पनि देशका लागि खेलेर उनले असाधारण व्यावसायिकता र समर्पण प्रदर्शन गरेको बताएका छन्।

विश्वकपअघि एडम्सले मामेलोडी सनडाउन्सलाई क्याफ च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। स्टेलेनबोस एफसीबाट सनडाउन्समा आबद्ध भएका उनले लिग उपाधि जितेपछि आफ्नो पदक सन् २०२३ मा छुरा प्रहारबाट मारिएका पूर्व टोलीका सहकर्मी ओश्विन एन्ड्रिसको सम्झनामा समर्पण गरेका थिए।