Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुपन्देही । आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको भन्दै अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ६ पाखापानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् । पाखापानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीयले जनाएका छन् । ओमबहादुरको बिहे भएको थिएन । बुवाआमा बितिसकेको र तीन दाजुभाइमध्ये जेठो दाइ अपाङग रहेका छन् । माइलो रहेका टेकबहादुरले कान्छा भाइ ओमबहादुरको हत्या गरेका हुन् । टेकबहादुरका श्रीमती र छोराछोरी छन् । स्थानीयका अनुसार बिहीबार साढे ५ बजेतिर यो घटना भएको हो । वडा सदस्यसमेत रहेका स्थानीय कमल ज्ञवालीले ओमबहादुरको बिहे नभएको र दाजु भाउजूसँगै बस्ने भएकाले उनीहरूको आचरणका विषयमा धेरै पटक विवाद भइरहेको जनाए । इलाका प्रहरी कार्यालय ठाडाले घटनाको सूचनासँगै अनुसन्धान अघि बढाएको छ । अभियुक्त टेकबहादुरलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको इप्रका ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टले बताए ।
‘स्थानीयले धेरै कुरा सुनाएका छन्, हामीले त्यसलाई आधार मान्ने प्रमाण खोज्ने हो, दुवै भाइले मापसे गरेर भएको झगडामा दाजुले भाइलाई बन्चरोले हानेर हत्या गरेको प्रारम्भिक अवस्थाले देखाएको छ, अभियुक्त घटनापछि भारत जानका लागि तयारी गरिरहेको अवस्थामा स्थानीयले दिएका सूचनाका आधारमा बिहीबार नै पक्राउ परेका छन्, आज पोष्टमार्टमसँगै घटनाको अनुसन्धान अघि बढ्छ, अभियुक्तको बयानका आधारमा मुद्दा दर्ता प्रक्रिया अघि बढ्ने हो’ उनले भने । दैनिक ज्यालादारी गरेर घर चलाउने परिवारमा कान्छाको मृत्यु भएपछि र माइलो कारागार जाने भएपछि अपाङ्ग रहेका जेठो दाइको परिवार र माइलाको परिवारमा बिचल्ली हुने भएको स्थानीयले जनाएका छन् । वडा सदस्य ज्ञवालीका अनुसार जेठो टीकाकी श्रीमती दुई वर्षअघि बितेकी हुन् उनका पनि ४ छोराछोरी छन् भने माइलाका पनि ५ जना छोराछोरी रहेका छन् । वडाध्यक्ष ऋषिबहादुर रेश्मीले दाइले भाइलाई बन्चरो हानेको घटना सुनेलगत्तै एम्बुलेन्समार्फत अस्पताल पठाए पनि उनलाई बचाउन नसकेको बताए ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल