Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिलमाया मृत्यु प्रकरणमा अभियुक्तले गरे के के स्वीकार ?

काठमाडौं। काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु, हत्या वा आत्महत्या केबाट भएको हो भन्नेबारे प्रहरी अझै पनि निश्कर्षमा पुग्न सकेको छैन। पक्राउ परेका सुर्य श्रेष्ठले शुक्रबार राति दिलमायासँगै भएको स्विकारे पनि उनले आत्महत्या गरेको दावी गरेका छन्। सुरुमा राति १२ बजे दिलमायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि सँगै सुतेको स्वीकारेको प्रहरीले दावी गरेको छ। तर ब्युँझदा दिलमाया झुन्डिएको देखेपछि उनलाई झारेर आफु राति नै त्यहाँबाट हिडेको प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा भनेका छन्। दिलमाया सलमा झुन्डिएको भन्दै उक्त सल आफुले फ्याँकेको ठाउँ सुर्यले प्रहरीलाई देखाएका थिए।
ढोका खुलै भएको अवस्थामा दिलमाया शनिबार कोठामा उत्तानो परेर लडिरहेको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार दिलमायाको घाँटीमा निलडामबाहेक अन्य चोटपटक छैन। दिलमायाको फेसबुक अकाउन्टमा शुक्रबार राति आफु मर्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै स्टाटस लेखेकाले घटना रहस्यमय बनेको हो। ‘हत्या हो भनौँ भने दिलमायाको फेसबुकमा आफु मर्न लागेको र कसैलाई दोष नदिन भन्दै स्टाटस लेखेको देखिन्छ। आत्महत्या भनौँ भने सँगै सुतेका व्यक्ति राती नै भागेका छन्’, एक अनुसन्धान अधिकारीले भने। मृतकका बुबा आइतबार अपरान्ह सुर्खेतबाट काठमाडौं आईपुगेपछि ज्यान मुद्धामा अनुसन्धान गर्न सुर्यविरुद्ध किटानी जाहेरी दिएका छन्।