Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिल्लीका मुख्यमन्त्री केजरीवाले २ दिनभित्र राजीनामा दिने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले इमान्दारीको प्रमाणपत्र नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने घोषणा गरेका हुन् ।

जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । जेलबाट रिहा भएपछि म अग्निपरीक्षा दिन चाहन्छु, उनले भनेका छन् । केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

केजरीवालको राजीनामा घोषणालाई भारतीय जनता पार्टी भाजपा ले भने प्रचारबाजी भएको जनाएको छ । भाजपा प्रवक्ता प्रदीप भण्डारीले समाजिक सञ्जाल एक्समा ट्वीट गर्दै दिल्लीका जनता आफूविरुद्ध भएको थाहा पाएपछि केजरीवालले स्टन्ट गरेको दाबी गरेका हुन् ।

कथित दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका केजरीवालन शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । केन्द्रीय जाँच ब्युरो सीबीआई द्वारा गरिएको गिरफ्तारीविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासको आदेशपछि उनी रिहा भएका थिए ।

उनीविरुद्धको मुद्दाको सुनुवाइ सेप्टेम्बर ५ मै सकिएको भए पनि अदालतले फैसला सुरक्षित राखेको थियो । सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले व्यक्तिगत स्वतन्त्रता लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाडिएको जनाएको थियो । न्यायाधीश भुइयाँले सीबीआई र ईडी प्रवर्तन निर्देशनालय द्वारा जुन आधार देखाएर केजरीवाललाई हिरासतमा राखिएको छ, त्यो न्यायको उपहास हुने बताएका थिए ।


सम्बन्धित समाचार