Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्री गुरुङको कडा निर्देशन

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाली नागरिकलाई नै ठगी गर्ने कार्यमा संलग्न नेपालीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

यूएई भ्रमणमा रहेका गृहमन्त्री गुरुङले दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो निर्देशन दिएका हुन्।

कार्यक्रममा सहभागी प्रवासी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए। ठगीमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूमाथि प्रभावकारी कारबाही हुन नसकेको उनीहरूको गुनासो थियो।

नेपाली समुदायको गुनासोपछि दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी गतिविधिमा संलग्न नेपालीमाथि कारबाही अघि बढाउँदा केही नैतिक समस्या आउने गरेको बताएका थिए। राजनीतिक तहबाट स्पष्ट निर्देशन प्राप्त भएमा त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो।

महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले नेपाली नागरिकलाई नै ठगी गरेर नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने व्यक्तिमाथि कारबाही गर्न किन हिचकिचाउने भन्दै प्रश्न गरेका थिए।

उनले नेपालीलाई ठगी गर्ने जोसुकै भए पनि उन्मुक्ति दिन नहुने स्पष्ट पार्दै त्यस्ता व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन्।

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।

उनको औपचारिक भ्रमण सम्पन्न भइसकेको छ र उनी स्वदेश फर्किसकेका छन्।