Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा संसदीय दलको नेतामा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत पाएका छन्। प्रतिनिधिसभामा कुल ८९ सांसद रहेकोमा ८८ जनाले मतदान गरेका थिए। मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बित रहेकाले मतदान गर्न पाएनन्। देउवा चौथौंपटक संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। पहिलोपटक उनी २०५१ सालको निर्वाचनपछि दलको नेतामा निर्वाचित भएका थिए। त्यो बेला उनी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए। पार्टीले हार भोगेपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिएनन्। दोस्रोपटक २०५६ को निर्वाचनपछि देउवा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। २०६४ को निर्वाचनपछि देउवा नेता रामचन्द्र पौडेलबाट संसदीय दलको नेतामा पराजित भएका थिए। २०७४ को निर्वाचनपछि संसदीय दलको नेतामा उनले प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गरेका थिए। त्यो बेला देउवाले ४३ मत ल्याउँदा सिंहले १९ मत प्राप्त गरेका थिए।