Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा समूहले पनि बढाउने भयो कांग्रेसमा पदाधिकारीको संख्या

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। समानान्तर महाधिवेशनका लागि गठित विधान मस्यौदा समितिले पदाधिकारी संख्या वृद्धि गर्ने प्रस्तावसहित मस्यौदा तयार पारेको हो।

समितिले तयार पारेको विधान मस्यौदामाथि चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकले अन्तिम टुंगो लगाउने तयारी गरेको एक नेताले जानकारी दिए।

ती नेताका अनुसार पार्टीभित्र सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्न पदाधिकारीको संख्या बढाउनुपर्ने सुझाव तल्लो तहबाटै आएको छ। सोही सुझावका आधारमा विधान मस्यौदा समितिले पदाधिकारी संख्या थप्ने प्रस्ताव तयार पारेको हो।

‘सबैको प्रतिनिधित्व सुनिश्चित गर्न पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने सुझाव तलबाट पनि आएको छ। त्यहीअनुसार मस्यौदा समितिले तयार पारेको हो,’ ती नेताले भने।

कुन पदमा कति संख्या थप्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्न सक्ने उनको भनाइ छ।

यसअघि गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि विधान संशोधन गर्दै पार्टीका पदाधिकारीको संख्या बढाएको थियो। त्यसैको सिको गर्दै देउवा पक्षले समेत पदाधिकारी थप्ने तयारी गरेको हो।

यसैबीच, देउवा पक्षको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने भएको छ। चुनदेवीमा जारी बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका छन्।