Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

काठमाडौ। नियामक निकायमा बसेर चलखेल गरेको आरोपमा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै बोर्डका अध्यक्ष ढुंंगाना विवादमा परेका थिए । बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।
उक्त उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याएको छानविनबाट पाइए पूँजी बजारको विकासविपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गर्न उल्लेख छ । जाँचबुझ समितिले सिफारिश गरेका अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेकाले आवश्यक छानविन अघि बढाइएको सरकारको भनाइ छ ।