Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ दलका लागि अघि बढेका हुन् देउवा ?

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन इतर समूहमा नयाँ पार्टी गठनको बहस तीव्र बनेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी यतिबेला त्यही बहसको केन्द्र बनेको छ।

सोमबार बिहान पनि काठमाडौँका राजुराज जोशी, अछामका देवराज देवकोटा र सिरहाका रामदयाल यादवसहितका कार्यकर्ताले सिंहलाई नयाँ पार्टी गठनमा ढिलाइ नगर्न दबाब दिएका थिए।

कार्यकर्ताको सुझाव सुनेपछि सिंहले पार्टीभित्र एकता कायम गर्ने प्रयास जारी रहेको र नयाँ विकल्पबारे समेत गम्भीर छलफल भइरहेको बताएका थिए। उनले जेठभित्रै कुनै निष्कर्षमा पुग्ने संकेत गरेका थिए।

तर, कार्यकर्ताहरू भने तत्काल निर्णयको पक्षमा देखिएका थिए। देवराज देवकोटाले नयाँ पार्टी गठन गरेर सिंहलाई नेतृत्वमा देख्न चाहेको बताए।

‘अब कार्यालय खोलेर अगाडि बढ्नुपर्छ। नयाँ पार्टी बनाउनुको विकल्प छैन,’ उनले भने।

सिंहले भने निरन्तर छलफल भइरहेको र हतारमा निर्णय नगर्ने जवाफ दिएका थिए।

सिरहाका रामदयाल यादवले पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिकको विषय उठाउँदै गगन थापासँग संवाद गरेर प्रक्रिया रोक्नुपर्ने धारणा राखे। उनका अनुसार जिल्लास्तरमा कार्यकर्तामाथि दबाब बढिरहेको छ।

कार्यकर्ताले पार्टी विभाजन वा नयाँ पार्टी निर्माण दुवै अवस्थामा संगठन जोगाउनुपर्नेमा जोड दिएका थिए।

यसक्रममा सिंहले सभापति गगन थापा आफूहरूको कुरा सुन्न तयार नभएको संकेत गरेका थिए। त्यसपछि राजुराज जोशीले पनि चाँडै निर्णय लिन आग्रह गरे।

उनले कार्यकर्ताहरू तितरबितर हुन थालेको भन्दै नेतृत्वलाई ढिलाइ नगर्न चेतावनी दिएका थिए।

सिंहले भने पहिलो प्राथमिकता पार्टीभित्र एकता कायम गर्ने भए पनि सम्भव नभए नयाँ विकल्प रोज्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए।

सोमबार मध्यान्ह पूर्वगृहमन्त्री रमेश लेखक पनि चाक्सीबारी पुगेका थिए। सिंह र लेखकबीच करिब आधा घण्टा छलफल भएको थियो। बाहिरिने क्रममा लेखकले पार्टीभित्र एकता कायम गर्ने विषय र प्रदेशस्तरीय भेलाबारे कुराकानी भएको जानकारी दिएका थिए।

कांग्रेसका नेताहरूका अनुसार निवर्तमान सभापति शेरबहादुर देउवाले समेत नयाँ पार्टी गठनतर्फ संकेत दिएका छन्। त्यसपछि संस्थापन इतर समूहमा नयाँ राजनीतिक विकल्पबारे छलफल तीव्र बनेको हो।

हाल हङकङमा रहेका देउवासँग इतर समूहका नेताहरूले नियमित संवाद गरिरहेका छन्। सिंहले देउवा चाँडै नेपाल फर्कने बताएका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि इतर समूहले कानुनी र राजनीतिक दुवै मोर्चामा नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको बताइन्छ।

देउवा पक्ष अहिले प्रदेशस्तरीय भेला सम्पन्न गरेर राष्ट्रिय भेलामार्फत १५ औँ महाधिवेशन गर्ने तयारीमा जुटेको छ। सहमति नभए नयाँ संरचनासहित अघि बढ्ने रणनीति बनाइएको नेताहरू बताउँछन्।

सो समूहमा नयाँ पार्टीको सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिन्ह ‘शंख’ राख्ने विषयमा पनि छलफल भइरहेको स्रोतहरूको दाबी छ।

यद्यपि नयाँ पार्टी गठनमा नेतृत्व, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएका छन्। नेताहरूका अनुसार अहिलेको समूहमा सबै शक्ति केन्द्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने प्रभावशाली नेतृत्वको अभाव महसुस गरिएको छ।

त्यसैगरी पार्टी सञ्चालन र संगठन निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने विषय पनि चुनौतीपूर्ण देखिएको छ।

तर, इतर समूहका नेताहरू भने कांग्रेसको वर्तमान नेतृत्वप्रति जनआस्था कमजोर बन्दै गएको निष्कर्षमा पुगेका छन्। उनीहरूको दाबी अनुसार आगामी स्थानीय र प्रदेश निर्वाचनलाई संगठन विस्तारको अवसरका रूपमा उपयोग गर्न सकिन्छ।

गत निर्वाचनमा १६५ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस १८ सिटमा सीमित भएको तथा समानुपातिकतर्फ १७ लाख मत मात्रै ल्याएको उदाहरण दिँदै इतर समूहले नयाँ राजनीतिक विकल्पको आवश्यकता औँल्याइरहेको छ।