Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नीतिबिनै राम भरोसामा चल्दै छ कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७८ मंसिरमा महाधिवेशन गर्दै नेतृत्व छानेको कांग्रेसले एक वर्ष बितिसक्दासमेत ‘पार्टी नीति कस्तो हुने भन्ने तय गर्न सकेको छैन । नीति निर्धारण नगर्दा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ ।

१४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई नै चयन भएका थिए भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी आठ सहमहामन्त्री निर्वाचनमार्फत चुनिएको थियो ।

कांग्रेसले ‘१४औं लाई नेता र नेतृत्व छान्ने महाधिवेशनका रूपमा लिएर नीति तय गर्न विधानमा भएको सुविधा प्रयोग गर्दै ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने भने पनि अहिलेसम्म त्यस विषयमा पार्टीभित्र बहससमेत सुरु भएको छैन ।

कांग्रेस विधान दफा १७,५०मा केन्द्रीय महाधिवेशन कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टी केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने व्यवस्था र नीति निर्माण तथा विधान पारित गर्न फरकफरक समय महधिवेशन गर्न सकिनेछ, भनिएको छ ।

विधानमा भएको सो व्यवस्थलाई टेकेर कांग्रेसले २८ कात्तिक २०७८ मा बसेको केन्द्रीय समिति बैठकमार्फत १४औं महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ केन्द्रित गर्ने र ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनमार्फत पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको थियो ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसको नेतृत्वमा नै नीति महाधिवेशनका विषयमा चासो नदेखिएको बताए ।

‘कांग्रेसले नेताभन्दा नीतिलाई प्राथमिकतामा राख्नुपथ्र्यो, त्यसतर्फ पार्टीलाई ड्राइभ गर्नेकै बढी चासो हुनुपर्ने थियो, त्यो भएन, शेरबहादुर देउवाकै चासो त्यतातर्फ कम देखियो,’ राजनीतिक विश्लेषक आचार्यले राजधानीसँग भने ।

देशकै मुख्य लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेसले ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन एक वर्ष बित्दा पनि गर्न नसक्दा पार्टीको आगामी नीति कस्तो हुने भन्ने तय गर्न सकेको छैन ।

यसैगरी, कांग्रेस नेतृत्वले पार्टी विधानसमेत वास्ता नगरी अघि बढेको पाइएको छ । कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पनि पूर्णता दिन सकेको छैन । पदाधिकारी पनि अपुरो छ ।

कांग्रेस महाधिवेशनको एक वर्ष बित्दा पनि कोषाध्यक्ष विहीन छ । यसरी हेर्दा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थालाई पनि नेतृत्वले बिर्सिएको छ ।

त्यस्तै, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ । पार्टीका विभिन्न समिति र विभागसमेत गठन हुन सकेको छैन ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशन, विभाग गठनलगायतका सांगठनिक संरचनालाई पूर्णता दिने विषयसहित पार्टीका आन्तरिक जीवनलाई गति दिन भन्दै सभापति देउवालाई ६ महिनाअघि नै छलफल दबाब दिएका थिए । तर, एक वर्ष बित्दासमेत महामन्त्रीले उठाएका विषयमा सभापति देउवाले बेवास्ता गर्दै आइरहेका छन् ।

देउवाले पार्टीको नीतिका विषयमा महत्वपूर्ण काम गर्ने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा भने उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेका छन् । सो प्रतिष्ठानले समेत कांग्रेसको नीतिका विषयमा ठोस काम गर्न सकेको छैन ।

कांग्रेसका पार्टी संरचना मात्र होइन, भ्रातृ संस्था पनि लथालिंग छन् । ३ फागुन २०७८ मा केन्द्रीय कार्यसम्पादन समितिले १० भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियो ।

साथै, बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो । सभापति देउवाले ९ फागुन २०७८ मा नेविसंघ र तरुण दलमा सभापति मनोनीत गरे पनि ती संगठनको महाधिवेशन हुन सकेको छैन ।

त्यस्तै, किसान संघलगायतका अन्य केही भ्रातृ संस्थालाई नेतृत्व दिए पनि अझै केही भ्रातृ संस्था नेतृत्वविहीन छन् ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल