Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ओलीको घुमाईमा फनफनी, बहुमत लिएर पनि रुझेको बिलारो

काठमाडौं । बीसाैं वर्ष राजनीतिमा हालीमुहाली गरेका र सशस्त्र जनयुद्ध छाडेर संसदीय राजनीतिमा आएपछि राजनीतिको शीर्ष स्थानमा रहँदै सबैलाई घुमाइरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले अर्का अध्यक्ष केपी ओलीको घुमाईमा फनफनी भएका छन् । पछिल्लोपटक भदौको २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले प्रचण्ड पार्टीको काममा केन्द्रित हुने निर्णय गरेको थियो । तर, उनले पार्टीको बैठक राख्नका लागि अर्का अध्यक्ष केपी ओलीलाई निवेदन हाल्दै हिँड्नुपरेको छ ।
हुन त अघिल्लो वर्षदेखि नै प्रचण्डले पार्टी सञ्चालन गर्ने र प्रधानमन्त्री केपी ओली सरकारको काममा केन्द्रित हुने सैद्धान्तिक सहमति भएको हो । तर, सो सहमति कहिल्यै कार्यान्वयन भएन । पार्टीमा उनको भूमिका बढाउन कार्यकारी अध्यक्ष भन्न थालियो । तर, उनको पार्टीमा भूमिका बढेन । सरकारको काम त प्रधानमन्त्री ओलीको आफ्नै तजबिजमा छ, त्यसमा प्रचण्डको भूमिका हुने कुरै भएन । पार्टीमा पनि कार्यकारी अध्यक्ष भएता पनि पार्टीका गतिविधिहरु दुई अध्यक्षबीचको सहमतिबाट अगाडि बढाउने सहमति छ ।
तर, प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले शनिबार ओलीलाई पार्टीको अध्यक्ष बोलाउन औपचारिकरुपमा निवेदन नै दिएपछि गम्भीर प्रश्न उत्पन्न भएको छ– पार्टीको बैठक बोलाउन निवेदन हाल्ने प्रचण्ड कसरी कार्यकारी अध्यक्ष भए ।
यदि उनी पार्टीको कार्यकारी अध्यक्ष भएको हो भने उनलाई चाहिँ अन्य सचिवालय सदस्यले त्यसरी निवेदन दिनुपर्ने थियो । त्यति नभए पनि कम्तीमा अन्य सचिवालय सदस्यले ओली र प्रचण्ड दुवैलाई संयुक्तरुपमा माग गर्नुपर्ने हो ।
यति मात्र होइन, शुक्रबार कार्यकारी अध्यक्षको हैसियतले प्रचण्डले सचिवालय बैठक बोलाउने प्रयास गरे । तर, अर्का अध्यक्ष ओलीले औपचारिक बैठक बोलाए त्यो पार्टी विभाजनको शुरुवात हुने बताएपछि प्रचण्ड त्यसलाई अनौपचारिक बैठक बोलाउन बाध्य भए । त्यो अनौपचारिक बैठकमा पनि प्रधानमन्त्री ओलीसहित अन्य चार सचिवालय सदस्य अनुपस्थित भए । प्रधानमन्त्री नै उपस्थित नभए पनि अन्य सदस्यहरु उपस्थित हुन सक्थे । तर, त्यसो हुन सकेन । त्यसैले त्यो सचिवालय वैठक अनौपचारिक पनि भएन, एउटा गुटको बैठकजस्तो भयो । यस अगाडि पनि पार्टीको सचिवालय, स्थायी र केन्द्रीय कमिटीको वैठक आयोजना गर्नका लागि प्रचण्डले प्रधानमन्त्री ओलीलाई गुहारेका धेरै उदाहरण छन् । कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले एक्लै पार्टी गतिविधि बढाएका उदाहरण एकदमै कम छन्, एकाध विज्ञप्ति जारी गर्नेबाहेक । उसो त यसबीचमा पार्टीका गतिविधिहरु पनि खासै अगाडि बढेका छैनन् । पार्टी एकताका कामहरु केही अगाडि बढे, तर ती पनि पूर्णरुपमा सम्पन्न भएका छैनन् ।
त्यसबाहेक प्रचण्डको नेतृत्वकामा पार्टीका गतिविधि खासै भएका छैनन् । बरु यसबीचमा प्रधानमन्त्री केपी ओली नै पार्टीका गतिविधिहरुमा सक्रिय छन् । केही दिन अगाडि मात्रै ओलीले प्रदेश नम्बर १ का नेता र कार्यकर्ताहरुसँग भर्जुअल बैठक गरेका छन् । प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुले जनताको वहुदलीय जनवादको विषयमा विभिन्न कार्यक्रम गरिरहेका छन् र अन्य कार्यक्रमहरु पनि भइरहेका छन् । प्रधानमन्त्री ओलीकै सक्रियतामा वालुवाटारमा नै मदन भण्डारी फाउन्डेसनका विभिन्न कार्यक्रम हुने गरेका छन् । प्रधानमन्त्री ओली आफ्नै स्वास्थ्य र कोभिड–१९ का कारणले मात्र अझ कम सक्रिय भएको देखिन्छ । यति स्वास्थ्यले साथ दिने हो भने उनी पार्टीका अन्य कार्यक्रमहरुमा निकै सक्रिय हुने चाहेको देखिन्छ । तर, कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका भने पार्टीमा खासै देखिँदैन । उनलाई स्वास्थ्यले पनि साथ दिएको छ, तर उनको कार्यकारी भूमिका भने देखिएको छैन ।


सम्बन्धित समाचार