Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा सरकारको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। तर, विनिमय दरमा भएको लाभका कारण कात्तिक मसान्तसम्म ऋण दायित्व ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको छ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ। कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
चार महिनामा लक्ष्यको २३ प्रतिशत ऋण प्राप्त
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्ममा एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको छ। चार महिनाको अवधिमा आन्तरिक ऋणबाट एक खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणबाट २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ।
वार्षिक लक्ष्यको तुलनामा आन्तरिक ऋण परिचालनको प्रगति ३०.४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालनको प्रगति ११.६२ प्रतिशतमा सीमित छ। हालसम्म प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा लिने लक्ष्य राखेको ऋणमध्ये अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ जुटाउन बाँकी रहेको छ।
ऋणको साँवा र ब्याज तिर्न १ खर्ब ४० अर्ब खर्च
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये कात्तिक मसान्तसम्ममा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।
चार महिनामा भएको ऋण सेवा खर्च जीडीपीको २.१४ प्रतिशत बराबर रहेको छ। ऋण सेवा खर्चमध्ये आन्तरिक ऋण भुक्तानीमा एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये कात्तिक मसान्तसम्म ३६.३२ प्रतिशत खर्च भइसकेको छ।
आन्तरिक ऋणको साँवा तिर्न ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। वार्षिक विनियोजनका आधारमा साँवा भुक्तानीमा ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक ऋण भुक्तानीमा २४ प्रतिशत खर्च
वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ। यसमध्ये कात्तिक मसान्तसम्म २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४.२३ प्रतिशत हो।
चार महिनाको अवधिमा वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
वार्षिक बजेट विनियोजनका आधारमा वैदेशिक ऋणको साँवा भुक्तानीमा २४.०७ प्रतिशत र ब्याज भुक्तानीमा २४.९० प्रतिशत खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
यसरी सरकारले एकातिर विकास तथा अन्य सार्वजनिक खर्चका लागि ऋण परिचालन गरिरहेको छ भने अर्कोतर्फ पुरानो ऋणको साँवा र ब्याज भुक्तानीमै ठूलो रकम खर्च गर्नुपरेको छ। सार्वजनिक ऋणको बढ्दो आकारसँगै ऋण व्यवस्थापन र भुक्तानीको दायित्व पनि सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।
२०८३ मंसिर १०
ताजा नेपाल
२०८३ मंसिर १०
ताजा नेपाल
२०८३ मंसिर १०
ताजा नेपाल