Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको असार ३२ गतेको निर्णयअनुसार लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्र गोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य नियुक्त भएका हुन्।

नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र प्रभावकारी नियमनमा प्राधिकरणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा तय गर्ने उल्लेख गर्दै उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

मन्त्री तिमिल्सिनाले संस्थागत हितभन्दा माथि जनहितलाई प्राथमिकता दिनुपर्ने भन्दै कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक निर्णय लिन पछि नपर्ने स्पष्ट पारे।

‘देश र जनताको हितमा काम भएन भने त्यस्तो अवस्था सरकारका लागि स्वीकार्य हुँदैन। जुन दिन तपाईंहरूले काम गर्न सक्नुभएन भन्ने लाग्छ, सरकारले तपाईंहरूको पनि विकल्प खोज्छ,’ उनले भने।

उनले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको प्रभावकारी व्यवस्थापन र नियमन प्राधिकरणको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै गुणस्तरीय, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने दूरसञ्चार सेवा सुनिश्चित गर्न नयाँ नेतृत्वले सक्रिय र जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए।