Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेहरूको कीर्तिमान तोडेपछि बालेनलेदिए माेदीलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको लोकतान्त्रिक इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री बनेको अवसरमा बधाई दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत प्रधानमन्त्री शाहले मोदीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। सन्देशमा मोदीको सुस्वास्थ्य, भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरिएको छ।

साथै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै दुई देशबीचको सहकार्य र सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको लामो समयदेखि कायम रहेको कीर्तिमान तोड्दै लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा नयाँ इतिहास रचेका छन्। बुधबारसम्म मोदीले लगातार ४ हजार ३९९ दिन प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै नेहरूको ४ हजार ३९८ दिनको रेकर्डलाई पछि पारेका हुन्।

मोदी पहिलो पटक सन् २०१४ मे २६ मा भारतको प्रधानमन्त्री बनेका थिए। त्यसयता उनी लगातार प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदै आएका छन्।

मोदीको यो उपलब्धिलाई भारतको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण राजनीतिक कीर्तिमानका रूपमा हेरिएको छ। नेपाल सरकारले समेत सो उपलब्धिको सम्मानस्वरूप औपचारिक बधाई सन्देश जारी गरेको हो।